चितवन मिल्क तङ्ग्रिँदै: दैनिक एक लाख लिटर दूध प्रशोधन

नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुर्याएको हो। कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताएका छन्।

असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन। चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ। बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उनले जानकारी दिए।

पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीबाट पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ। अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको छ।

सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो। हाल नेपालमै खपत भइरहेको छ। अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको अधिकारीहरू बताउँछन्।

चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए।

उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला–जिल्लामा आन्दोलनसमेत गरेको थियो।

जिल्ला दूध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताएका छन्।

प्रकाशित मिति: : 2023-07-11 08:17:00

प्रतिकृया दिनुहोस्