सर्वसाधारणको अर्बौँ रकम हिनामिना गरेको अभियोगमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंलगायत सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई परिपत्र भएको छ।
ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको सहकारी संस्थाका अध्यक्ष चौलागाईंसहित सञ्चालकले लामो समयदेखि कार्यालय बन्द गरेर सेयर सदस्यहरुलाई दुख दिन थालेपछि सहकारी विभागले कारबाहीका लागि सिआईबीलाई आग्रह गरेको हो।
बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि अध्यक्ष चौलागाईंले मिटरब्याजी जस्तो आरोप लगाएर हैरान पारेका छन्। गत बुधबार विभागले सेयर सदस्यहरुको दबाबमा पत्र लेखेपछि सिआईबीले चौलागाईंसहितका सञ्चालकहरुलाई पक्राउ गर्ने तयारी गरेको छ।
संस्थाका पीडित सदस्यहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा प्रमाणसहित मंगलबार नै उजुरी दर्ता गरेका छन्। सहकारीले आफू बच्न संस्थाले ८० प्रतिशत बचत फिर्ता गरिसकेको र बचत फिर्ता लिन आउन सूचना जारी गरी झुटो प्रचार गर्दै आएको थियो। बचत फिर्ता गरेको सरकारी निकायमा भनिएपनि बचतकर्ताले रकम फिर्ता नपाएको सदस्यहरुले नै सीआईबीमा प्रमाणसहित उजुरी दिएका हुन्।
यसअघिका उजुरीलाई छोप्न सहकारीले बचत फिर्ता गर्न जग्गा दिने प्रलोभन देखाएको थियो। सहकारीले विभिन्न समयमा अत्यधिक ब्याज दिने प्रलोभन दिएर बचत संकलन गरेको थियो। गत असार १ गतेबाट कार्यालय नै बन्द गरेर हिँडेपछि देउराली सहकारीका पीडितहरु माइतीघरमा निरन्तर आन्दोलन गरिरहेका छन्। संस्थाका पीडित सदस्यहरुले विभागमा पुगेर नाराबाजी गरेपछि विभागले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूराेलाई सिफारिस गरेको हो।
पीडितहरुले देउराली सहकारीका सञ्चालक तथा अध्यक्ष चौलागाईंले सर्वसाधारणबाट करिब ३ अर्ब अपचलन गरेको आरोप लगाएका छन्। सहकारीमा समस्या आएपछि गठन भएको देउराली सहकारी पीडित संघर्ष समिति गठन भएर आन्दोलन भइरहँदा समितिका सदस्यहरुलाई झुठा मुद्दा लगाएर फसाउन खोजेको पीडितहरुले बताएका छन्।