भिटोफको ‘रोपाइँ महोत्सव-२०८०’ बेलकोटगढीमा

यस वर्षको ‘धान दिवस तथा रोपाइँ महोत्सव-२०८०’ असार १५ गते बेलकोटगढीमा मनाउने भएको छ। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नुवाकोटको बेलकोटगढीमा मनाउन लागिएको हो।

नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइन्छ। यो दिन किसानहरुले महत्वपूर्ण पर्वको लामो समयदेखि मनाउँदै आएका छन्। डेढ दशक वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि राष्ट्रिय पर्वको रुपमा मनाउने गरिएको हो।

नेपालको इतिहासमा धान मुख्य खाद्य बाली रहेको, सभ्यता र संस्कृतिसँग जोडिएको साथै साथै जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ लाई किसानहरुले महत्वपूर्ण उत्सवका रुपमा लिइन्छ।

धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैको ध्यान किसानतर्फ आकर्षित गर्ने अभिप्रायले नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ।

असार १५ लाई वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन समेत हो। यो दिनलाई रोपाइँमा सहभागी हुँदै खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांस्कृतिक पर्वसमेत बनेको छ, असार १५। यो दिनमा दही र चिउरा खाने, हिलोमा खेलेर गीत गाउँदै धान रोपेर उत्सवको रुपमा मनाउने गर्दछ।

यसैको अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्चले बर्सेनि विभिन्न गाउँमा पुगेर किसानसँग हर्षोल्लासको साथमा धान दिवस मनाउने गरिएको छ। ‘कृषि पर्यटनद्वारा स्थानीयलाई रोजगारी सिर्जना गर्ने तथा आय आर्जनमा टेवा पुग्ने हुनाले बर्सेनि किसानहरुसँग रोपाइँमा सहभागी भई महोत्सव आयोजना  गर्दै आएको छाैँ’, भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले बताए।

अध्यक्ष थापाका अनुसार प्राकृतिक सौन्दर्य, स्वच्छ र शान्त वातावरणमा ग्रामीण भेगका डाँडाकाँडा, भिरपाखा, हरियाली वन जङ्गल, खोलानाला, तालतलैया, झरना र अन्य भौगोलिक, जैविक एवं सांस्कृतिक विविधता, बस्तीमा पुगेर पर्यटकहरु रमाउन चाहन्छन्। साथै स्थानीयहरुले पाहुनाहरुको स्वागत सत्कार एवं सेवा पुर्‍याउने ग्रामीण पर्यटनअन्तर्गत पर्दछ।

ग्रामीण पर्यटन प्रवर्द्धनका साथै ग्रामीण क्षेत्रको मौलिक उत्पादन, त्यहाँको संस्कृति, खानपिन र अतिथि सत्कारका विषयहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने र प्रवर्द्धन गर्ने (भिटोफ) नेपालको प्रमुख उदेश्य रहेको उनले बताए। २०५४ सालमा गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको स्थापनाकालदेखि देशको कुनाकाप्चा पुगेर ग्रामिण पर्यटनको प्रवर्द्धन गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-06-29 15:41:00

प्रतिकृया दिनुहोस्