विवाद मिलाउन गएका वडाध्यक्षलाई वन कार्यालयले थुन्याे

डिभिजन वन कार्यालय कपिलवस्तुले जिल्लाको बाणगंगा नगरपालिका– १० का वडाध्यक्ष यमप्रसाद पोखरेललाई पक्राउ गरी वन कार्यालयको थुनुवा कक्षमा राखेको छ। बाणगंगा नगरपालिका– १० स्थित मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने क्रममा वन कार्यालयका कर्मचारी र स्थानीयबीच झडप भएपछि शुक्रबार वडाध्यक्ष पोखरेललाई वन कार्यालयले पक्राउ गरेको हो।

वन अतिक्रमणसम्बन्धी कसुरमा वडाध्यक्ष पोखरेललाई पक्राउ गरिएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुबेदीले बताए। उनले वडाध्यक्ष पोखरेलले अतिक्रमण हटाउन नदिएर स्थानीयलाई उक्साएर आफूहरुमाथि आक्रमण गरेकाले पक्राउ गरिएको जानकारी दिए।

शुक्रबार वडाध्यक्ष पोखरेलले स्थानीय महिलालाई उचालेर आफूहरुमाथि ढुङ्गामुढा गर्न लगाएको प्रमुख सुबेदीको आरोप छ। उनले स्थानीयको आक्रमणबाट ८ जना कर्मचारी घाइते भएकाे बताए। ‘साझेदारी वनको पटना भन्ने ठाउँमा वन क्षेत्रको सीमाना छुट्याउन हामी हिजो (शुक्रबार) त्यहाँ पुगेका थियौँ,’ डिभिजन प्रमुख सुबेदीले भने, ‘तर स्थानीयलाई उचालेर हाम्रो काममा अबरोध गर्दै आक्रमण गरेपछि उनलाई (वडाध्यक्ष पोखरेल)नियन्त्रणमा लिएका हौँ।’

तर, यता बाणगंगा नगरपालिकाले वडाध्यक्षलाई नभएको आरोप लगाएर पक्राउ गरेको बताएको छ। ‘वन कार्यालयका कर्मचारी र स्थानीयबीच विवाद भइरहेको खबर आएपछि कार्यापालिकाबाट उहाँ (वडाध्यक्ष) जानु भएको हो। तर, वन कार्यालयले उहाँलाई नियन्त्रण लिएको छ,’ नगरपालिका प्रमुख चक्रपाणी अर्यालले भने, ‘उहाँको नियन्त्रण वन ऐन अन्तरगत छ। हाम्रो गम्भीर आपत्ति छ।’

वडाध्यक्ष पक्राउ परेको विरोधमा आज (शनिबार)को नगरसभासमेत स्थगित गरिएको नगरप्रमुख अर्यालले बताए। उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको काम नगरले सुकुम्बासी समाधान आयोगमार्फत् गरिरहेकाले नगरपालिकालाई अबरोध हुने गरी काम नगर्न वन कार्यालयलाई आग्रह पनि गरे।

नगरप्रमुख अर्यालले सर्वदलीय बैठक बसेको र वडाध्यक्षलाई छुटाउने कुरा भइरहेको बिएल नेपाली सेवालाई बताए। तर, उता डिभिजन वन कार्यालयका प्रमुख सुबेदीले वडाध्यक्षमाथि छानबिन भइरहेको भोलि (आइतबार) अदालतमा उपस्थित गराइने बताए।

प्रकाशित मिति: : 2023-06-24 19:03:00

प्रतिकृया दिनुहोस्