उच्च अदालत पाटनले काठमाडौंमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
नेपाल चलचित्र संघले दायर गरेको रिटमा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे।
सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अदालत आदेश जारी गरेको छ। अदालतले असार १२ गते दुबै पक्षलाई बोलाएको छ।
भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहकाे निर्णय कानुनविपरीत रहेकाे भन्दै नेपाल चलचित्र संघले बुधबार अदालतमा रिट दायर गरेकाे थियाे।
बालेनले भारतीय चलचित्र आदिपुरुषमा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएकाे भन्दै ४ गतेदेखि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए। उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत पुगेकाे थियाे।