रुकुम पूर्व भूमे गाउँपालिकाले आयोजना गरेको चौथो वृहत भूमे सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। असार २ गतेदेखि सुरु भएको महोत्सव मङ्गलबार साँझ समापन भएको हो।
परम्परागत संस्कृतिसँग सम्बन्धित नाच र गीतको संरक्षणका लागि भूमे गाउँपालिकाले २०७५ सालदेखि खुला सांस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ।
मगर समुदायको महत्वपूर्ण पर्व भूमेको अवसरमा भूमे-२ खाबाङ बगरमा प्रतियोगिता हुँदै आइरहेको छ। असार ३ गतेदेखि विभिन्न विधाका नाच र गीतमा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा भूमे, नचारु, मयुर, पैसेरु, फाँक, झोरेल्नी, सिङ्गारु गरी ७ विधाका नाच र एक लस्के गीतमा खुला प्रतिस्पर्धा गराइएको थियो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढा मगरले भूमेका कलालाई मनोरञ्जन मात्रा नभएर आयआर्जनको बाटोमा लैजानुपर्ने बताए।
त्यस्तै भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा मगरले भूमेको कला सँस्कृति मगरहरुको मात्रै नभई सबै भाषा जातिको भएको र यसको संरक्षण सबैले मिलेर गर्नुपर्ने बताए।
जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले महोत्सवले यहाँको संस्कृतिको जगेर्ना तथा पुस्तान्तरण गर्नमा महत्वपूर्ण भुमिका खेलेको बताए। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले भूमे महोत्सवलाई आगामी वर्षहरुमा अझै परस्कृत गर्दै लैजानमा गाउँपालिका सकारात्मक रहेको बताए।
महोत्सव भूमे नाच प्रतियोगिता तर्फ भूमे-६ महतले प्रथम स्थान, भूमे-२ काक्रीको समूहले दोस्रो स्थान र भूमे-७ धर्मशालाको समूहले तेस्रो स्थान, भुमे-३ क्याङ्सीको समूहले सान्त्वना स्थान प्राप्त गरेको थियो। उक्त विजेता भूमे नाच समूहले क्रमशः एक लाख, ७५ हजार, ५० हजार र २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र तथा कप प्राप्त गरेका छन्।
पैसेरु नाचतर्फ भूमे-९ चुन्वाङले प्रथम स्थान, भूमे-३ क्याङ्सीको समूहले दोस्रो स्थान, भूमे-६ को स्यालासुर्पा समूहले तेस्रो स्थान र साविककै नाखे रुन्ची समूहले सान्त्वना स्थान हात पारेका छन्। उक्त विजेता समूहहरुले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद प्रमाणपत्र र कप प्राप्त गरेका छन्।
मयुर नाचतर्फ भूमे-५ रुमालबाराले प्रथम स्थान, भूमे-२ खाबाङबगरको समूहले दोस्रो स्थान, भूमे-८ कुचिबाङको समुहले तेस्रो स्थान र साविककै नाम्फुको समूहले सान्त्वना स्थान हासिल गरेका छन्। विजेता समूहले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्रमाणपत्र र कप प्राप्त गरेका छन्।
सिंगारु नाचतर्फ सिस्ने गाउँपालिका-५ रुकुमकोटको समूह प्रथम, भूमे-३ झुम्लाबाङको समूह दोस्रो र भूमे-५ रुमालबाराको समूहले तेस्रो स्थान हासिल गरेका छन्। विजेताले क्रमश ३० हजार, २० हजार र १० हजार नगद प्रमाणपत्र र कप प्राप्त गरेका छन्।
ढोंगे–नचारु नाचतर्फ भूमे-३ क्याङ्सीले प्रथम स्थान, भूमे-५ सिमाको समूहले दोस्रो र भूमे-६ महतले तेस्रो स्थान हासिल गरेका छन्। विजेताले क्रमशः ७५ हजार,५० हजार, ३० हजार नगद प्रमाणपत्र र कप प्राप्त गरेका हुन्।
लस्के गीततर्फ भूमे १ लुगुम महिला समुहले प्रथम स्थान, भूमे-३ झुम्लाबाङ पुरुष समूहले दोस्रो, भूमे २ खाबाङ महिला समूहले तेस्रो स्थान र भूमे-६ महतको पुरुष समूहले सान्त्वना स्थान हासिल गरेका छन्। विजेताले क्रमशः ३० हजार, २० हजार, १० हजार, ५ हजार नगद प्रमाणपत्र र कप प्राप्त गरेका छन्।
झोरेल्नी नाचतर्फ भूमे-३ क्याङ्सीको समुह प्रथम र भूमे-६ महतको समूहले दोस्रो स्थान प्राप्त गरेका थिए। विजेताले क्रमशः ३० हजार,२० हजार नगद प्रमाणपत्र र कप प्राप्त गरेका छन्।
फाँक नाचतर्फ भूमे-१ लुगुम समूहले प्रथम स्थान, भूमे-३ क्याङ्सी दोस्रो, भूमे-६ महत तेस्रो र भूमे-२ खाबाङ समूहले सान्त्वना स्थान हासिल गरेका छन्। विजेताले क्रमशः ३० हजार, २० हजार, १० हजार ०५ हजार नगद प्रमाणपत्र र कप प्राप्त गरेका छन्।