नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिले दुई दिने राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएकाे छ।
समितिको आयोजना र संगठनको केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तीकरणः सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ जेठ २७ र २८ गते काठमाडौंको थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा कार्यक्रम गर्न लागिएको हो।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति हुने संगठनका महासचिव जीवन काफ्लेले बताए।
उनका अनुसार ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एलियड, श्रीलंका, बंगलादेश, भारतलगायतका विदेशी पाहुनाहरुले पनि कार्यक्रममा सहभागिता जनाउने छन्।
‘कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनीतिक नेपाली महिलाको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावी लक्ष्यसहित विविध पक्षमा छलफल र अन्तर्क्रिया हुनेछ’, उनले भने।
संगठनले आज विज्ञप्ति जारी गर्दै भेलामा संगठनका ७७ जिल्लाका कार्यसमिति, ३८ विभागीय कार्यसमिति, सात प्रदेश र उपत्यका गरी आठ प्रदेश कार्यसमितिका उपाध्यक्ष, महिला केन्द्रीय प्रतिनिधि र एक महिला सदस्यको प्रतिनिधित्व रहने जानकारी दिएको छ।
त्यस्तै, केन्द्रीय परिषद्मा रहेका ३२ महिला सदस्य, केन्द्रीय कार्य समितिका पाँच जना पदाधिकारी, ५८ जना महिला सदस्यसहित सम्पूर्ण पदाधिकारी तथा सदस्य गरी करिब सात सय जना प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थिति रहने जनाइएको छ।
सार्वजनिक प्रशासनमा महिलाको पहुँच बढाउन, कार्यस्थलमा हुने भेदभावको अन्त्य गर्न र नेतृत्व विकासलगायतका विषयमा प्रत्यक्ष अन्तर्क्रियाका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरुलाई पनि आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ।
साथै, भेलामा सार्वजनिक रुपमा विशिष्ट योगदान गरेका नायव महालेखापरीक्षक बिन्दु विष्ट, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, मीरा चौधरी, उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष भवानी रणालाई सम्मान गरिनेछ।