नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न थप एक जना पक्राउ परेका छन्।

शुक्रबार प्रहरीको फरार रहेकी लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो। पक्राउ परेकी महर्जनलाई आजै अदालतमा उपस्थित गराइएको प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ।

बुधबार सरकारी वकिल कार्यालयले शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेकाे थियाे। तीमध्ये १६ जना हिरासतमा छन्। १६ जनालाई प्रहरीले फरार सूचीमा राखेकाे थियाे। फरारमध्ये लक्ष्मीलाई शुक्रबार पक्राउ गरिएकाे हाे। याेसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

शरणार्थी प्रकरणमा यसअघि तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

त्यसैगरी पक्राउ पर्नेहरूमा पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी रहेका छन्।

सोही प्रकरणमा आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा नीरज राईसहितका व्यक्तिहरु फरार छन्। 

प्रकाशित मिति: : 2023-05-26 15:12:00

प्रतिकृया दिनुहोस्