सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने भएको छ।
टिकापुर घटनामा दोषी ठहर भएर जन्मकैदकाे सजाय पाएका चौधरीको बाँकी कैद सजाय माफीको पत्र गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा माफी दिन लागिएको हो।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ।
गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो।
२०७२ भदौ ७ गते टिकापुरमा ७ जना सुरक्षाकर्मी र १ जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा उनलाई दोषी ठहर गरी जन्मकैदकाे सुनाइएको थियो। चौधरीलाई हालै मात्र सर्वोच्चले जिल्ला र उच्चको फैसला सदर गर्ने फैसला सुनाएको थियो।
त्यस लगत्तै चौधरी संरक्षक रहेका नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरे पनि सरकारले सजाय माफी दिने बताएपछि निर्णय फिर्ता गरेकाे थियाे।