‘भुटानी रणार्थीका नाममा ठगी गर्नेलाई कानुनी कारबाही गरियाेस्’

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले भुटानी शरणार्थीका नाममा ठगी गर्नेका बारेमा यथार्थ छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

सांसद ठाकुरप्रसाद गैह्रेले भूटानी शरणार्थीका बारेमा के भइरहेको छ? भनी जिज्ञासा राखे।

सांसद तेजुलाल चौधरीले गृह मन्त्रालयअन्तर्गत भएको शरणार्थी काण्ड ठगी प्रकरण भएको उल्लेख गर्नुहुँदै यसमा संलग्नलाई छानबिन गरेर कारबाही गर्न माग गरे।

सांसद तोसिमा कार्कीले शरणार्थी काण्डमा ठूला नेताको हात रहेको खुल्न आएको, पक्राउ पुर्जी जारी भएका सांसद भागेको तथा सबै सांसदले सम्पत्ति विवरण बुझाएकाले वेबसाइटबाट सार्वजनिक गर्न माग गरिन्।

सांसद देवेन्द्र पौडेलले शरणार्थी काण्डमा कसैको प्रभावमा नपरी दोषीलाई कारबाही गर्नुपर्ने बताए।

सांसद प्रदीप यादवले पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भाग्नुले दोषी भएको प्रमाणित गरेको बताए। रायमाझी नेपालमै रहेको र प्रहरीको सम्पर्कमा रहेको सुनिएको उल्लेख गर्दै उनले नेपालको छवि विश्वमै बिग्रिएकाले दोषीलाई कारबाही गर्न पछि हट्न नहुनेमा जोड दिए।

सांसद प्रेम सुवालले शरणार्थी प्रकरणमा शीर्ष नेताको निरन्तर चलिरहने भेटघाट एवं बैठक दोषीलाई जोगाउन हो भनी प्रश्न गरे।

प्रकाशित मिति: : 2023-05-09 12:48:00

प्रतिकृया दिनुहोस्