मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'मानव सेवा आश्रम'प्रति सम्मान र अभिनन्दन व्यक्त गरेका छन्।

शनिबार वनस्थली, खरिबोटस्थित आश्रमस्थलमा पुगी सहभोज गर्नुका साथै उनले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिएका थिए।

उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० वर्षदेखि 'सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र' जस्तो चुनौतीपूर्ण अभियानको प्रभावकारी सञ्चालन गर्न सकेकोमा उनले खुसी प्रकट गरे।

आश्रमले २०८२ सम्ममा सडक मानव मुक्त राष्ट्रको उद्देश्य सफल गरिछाड्ने लक्ष्य लिएको छ। हाल देशभरिका २३ आश्रममा १६ सयभन्दा बढी आश्रितहरू छन्, जो विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेका थिए।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रितहरूलाई खोजीखोजी आश्रय दिने गर्दछ। आश्रमको सेवापछि हालसम्म २२ सयभन्दा बढी आश्रितहरू आफ्नै घर-परिवारमा फिर्ता भएका छन्। आश्रममा सयभन्दा बढी स्वयंसेवी छन्। आश्रमका अध्यक्ष गोर्खाका रामजी अधिकारी हुन्।

आश्रमको उदाहरणीय, मानवीय र नमुनायोग्य काम र क्रियाशीलताको निरन्तरताका लागि आफ्नो र सरकारको सम्पूर्ण साथ रहने प्रतिबद्धता समेत उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गरे।

आश्रमलाई सहयोग गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफूले आज वा भोलि कार्यसूची नै बनाएर छलफल गर्ने र प्रधानमन्त्री स्वयंले पनि राष्ट्रिय संवेदनाका यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिएकोले आश्रमको गतिविधिलाई थप उचाइमा पुर्‍याइने बताए।

प्रकाशित मिति: : 2023-05-06 12:58:00

प्रतिकृया दिनुहोस्