मिटरब्याजीका समस्या समाधान गर्न अध्यादेश ल्याउँदै सरकार

सरकारले मिटरब्याजीका समस्या समाधान गर्न आवश्यक कानुन निर्माणका लागि अध्यादेश ल्याउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजीको समस्या समाधान गर्न आवश्यक कानुन बनाउन अध्यादेश ल्याउन लागेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनकाअनुसार मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएर राष्ट्रपतिकोमा सिफारिस गर्ने निर्णय गरेको छ। प्रवक्ता शर्माले भनिन्, ‘मिटरब्याजीसँग सम्बन्धित समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नको निम्ति काननी व्यवस्था गर्नको निम्ति अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ। आज अध्यादेश पठाउने काम हुन्छ।’

आवश्यक कानुन नहुँदा अहिले मिटरब्याज साहुलाई कारबाही गर्न मिलेको छैन। मौजुदा कानुनले पीडकलाई कारबाहीको दायरामा ल्याउने भन्दा पनि पीडितलाई थप पीडा दिने गरेको छ। साहुले घरमा बस्न नदिएको भन्दै ३० दिनदेखि मिटरब्याज पीडितहरु काठमाडौंमा धर्नामा छन्।

प्रकाशित मिति: : 2023-05-02 21:18:00

प्रतिकृया दिनुहोस्