सिङ्गो देश परिवर्तनको पक्षमा छ: रवि लामिछाने

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताएका छन्।

चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बनेका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताए।

जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफू चुनावी मैदानमा आउनु परेको भन्दै उनले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताए।

सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिनाअघि निर्वाचित भएर गए पनि पुनः मत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए। विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए। 

सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो। उनले प्रतिस्पर्धी उम्मेदवार र उनका मतदातालाई समेत आभार व्यक्त गरे।

उनले भने, 'निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहान्छु। नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ। गल्ती भए माफ गर्नुहोला।' नेपाली जनताले स्वर्णीम युगको खोजी गरिरहेको सङ्केत उपनिर्वाचनबाट दिएको उनको भनाइ थियो। 

प्रकाशित मिति: : 2023-04-25 15:59:00

प्रतिकृया दिनुहोस्