राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ  नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलन : उपलब्धी, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताए।

प्रधानमन्त्रीले भने,‘सही विचार र नीतिका आधारमा कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ। अहिले हामी त्यही प्रक्रियामा छौँ। जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरु कम्युनिस्ट एकताको पक्षमा छैनन्। हामी अहिले पनि एकताकै पक्षमा छौँ।’ उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिस्ट आन्दोलनमा  नयाँ धुव्रीकरणको प्रक्रिया अगाडि बढ्ने बताए।

प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे।

उनले भने,‘कम्युनिस्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि। नेतृत्वले गलत विचार र प्रवृत्ति अङ्गीकार गर्‍यो भने, धेरै ठुलो क्षति हुन्छ र ठुलो प्रतिक्रान्ति हुन्छ। हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ।’

उनले २०७४ को आम निर्वाचन कम्युनिस्टहरुले चालेको ठुलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैँ भएको बताए।

‘राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिस्टहरु एक हुन जरुरी छ’, उनले भने। लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिस्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो।

उनले बिना आग्रह पूर्वाग्रह विचारधारात्मक रुपले समीक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिस्टलाई आह्वान पनि गरे। उनले अगाडि भने, ‘एकताबद्ध भएर मात्र हामी कम्युनिस्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौँ। अहिले हामी कम्युनिस्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौँ। अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गर्नेहरु सबै एउटा मोर्चामा आबद्ध भएर एउटा सन्देह दिऔँ।’ उनले छिट्टै समाजवादी मोर्चा गठन गरिने र नेकपातिर फर्कनका लागि सबैलाई अपिल गरे।

प्रकाशित मिति: : 2023-04-23 17:32:00

प्रतिकृया दिनुहोस्