‘यात्री’ बाइक दर्ता प्रकरण: महावीर पुनद्वारा सामाजिक जनआन्दोलनकाे घाेषणा (विज्ञप्तिसहित)

नेपाली युवाद्वारा आविष्कार गरिएको ‘यात्री’ मोटरसाइकल दर्ता गर्न सरकारले अनुमति नदिएपछि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले विभिन्न मागसहित सामाजिक जनआन्दोलनको घोषणा गरेका छन्।

पुनले सरकाले नवप्रतिभाहरुलाई प्रोत्साहन गर्नुको साटो असहयोग गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेका हुन्। आन्दोलनको मिति र स्थान भने तय भएको छैन।

उनले नेपालमा आविष्कार भएका सवारी साधनलाई नम्बर प्लेट दिने नियम/कानुन बनाउनुपर्ने, देशमा नवप्रतिभाहरुलाई काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, बजेट निर्माण गर्दा आविष्कार तथा अनुसन्धानको लागि १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेका छन्।

उनले आन्दोलनमा सहभागी हुन आव्हान गरेका छन्। यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने यात्री बाइककाे दर्ता प्रक्रिया मिलाउन  सरकारका मुख्यसचिवलाई निर्देशन दिइसकेका छन्।

४२१९ अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई उच्च प्राथमिकता दिइयोस भनि संघीय र प्रदेश सरकारलाई राखिएका मागहरु :

१. अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक बर्ष संघीय र प्रदेश सरकारले आफ्नो बिकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस र ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष’ मा राखियोस्। सो कोष बाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र अविष्कार गर्न सहयोग गरियोस। सो कोषमा जम्मा भएको रकम सोहि बर्ष खर्च नभएमा आगामी बर्षहरुमा पनि खर्च गर्न पाउने ब्यबस्था गरियोस।

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्बजनिक खरिद ऐन भन्दा छुट्टै ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन’ बनाइयोस र आबश्यकता अनुसार अनुसन्धानको कामलाई बहुबर्षीय कार्यक्रममा राख्न मिल्ने गरि नीति नियम बनाईयोस।

३. अनुसन्धान, नबप्रबर्तन र आविष्कार गरेर बनेका र सफलतापुर्बक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरि नब-उद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस र स्वदेशी उत्पादनलाइ बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस। सो कामलाई सहज बनाउन र आबश्यक अनुसारको नीति नियम बनाउनको लागी ‘नब उद्यमी प्रबर्धन समिति’ बनाइयोस र सो समितिले सरकारलाई आबश्यक कदम चाल्न अनुरोध गर्ने ब्यबस्था गरियोस।

४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र बिश्वबिद्यालयहरुमा व्याबहारिक अनुसंधानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रबर्धन गर्नको लागी बिज्ञान मन्त्रालय अन्तर्गत ‘व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग’ खोलियोस। सो विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र फाइदा लिनको लागि चाल्नु पर्ने ठोस बाताबरण तयार गर्ने पूर्ण अधिकार सहित जिम्मा दिइयोस।

प्रकाशित मिति: : 2023-04-23 13:07:00

प्रतिकृया दिनुहोस्