बारा २: निर्वाचन बिथोल्न खोज्ने पाँच जना पक्राउ 

बारा निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन बिथोल्न खोज्ने पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले हालसम्म निर्वाचन बिथोल्न खोज्ने पाँच जनलाई पक्राउ गरिएको जानकारी दिए।

उनले भने, ‘निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न मतदान स्थलबाट पाँच जनालाई पक्राउ गरिएको छ। मतदान परिचय पत्र नभएपनि मतदान केन्द्रमा होहल्ला गर्न खोजेपछि चार जना र एक जना नक्कली मतपत्र खसाल्न खोजेपछि पक्राउ गरिएको हो।’

एसपी बोगटीले अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए। उनले भने, ‘बाहिर आएको जस्तो केही छैन। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।’

बारा २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, ६ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ।बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई  गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ।

बारा २ मा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ। ती मध्ये ६५  मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

बारा २ को उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2023-04-23 11:54:00

प्रतिकृया दिनुहोस्