ढाकाकुमारको प्रश्न– घुस माग्ने रविजीको ‘कोर टिम’ कारबाही चाहीँ मलाई मात्रै ?

आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नको लागि २ करोड घुस मागेको अडियो सार्वजनिक भएको करिब २ घण्टापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सो घटनाको छानबिन गरेर ७२ घण्टाभित्र कारबाही गर्ने बताएका थिए।

तर, पार्टीको अनुशासन तथा आचरण समितिले मंगलबार श्रेष्ठसँग बयान लिने क्रममा नयाँ ट्विस्ट आएपछि रास्वपाको अडियो प्रकरण अझै पेचिलो बन्ने देखिएको छ।

निलम्बित सांसद ढाकाकुमारले मंगलबार छानबिन समितिलाई बयानका क्रममा आफूलाई फसाउन खोजेको र यस्तो बेला आफूमाथि सबैतिरबाट प्रहार भइरहेको बताउँदै पार्टीका नेताहरूले साहनुभूतिसमेत नदेखाएको गुनासो गरे।

‘मैले पटकपटक भनिरहेको छु। यो कुरा त रविजीलाई महिना दिनअघि थाहा थियो त! त्योबेलै भन्न सक्नुपथ्यो नि? अहिले आएर मलाई एक्लै पार्ने,’ बयानका क्रममा ढाकाकुमारले प्रश्न गरे, ‘तपाईं–हामीलाई त राम्रोसँग थाहै छ, घुस माग्ने रविजीको कोर टिम कारबाही चाहीँ मलाई मात्रै गर्ने रे।’

नेताहरूको टाउको जोगाउने नाममा आफूलाई मात्र कारबाही गरे सभापति रवि लामिछानेको ‘कोर टिम’को लिस्ट सार्वजनिक गरिदिने चेतावनी दिएका छन्। उक्त अडियो टेपमा भएको आवाज आफ्नो नभएको र क्यारिकेचर गरेर आफूलाई फसाउन खोजिएकोले आफूलाई कारबाही गर्न नहुने ढाकाकुमारको भनाइ छ।

‘हामीले हिजो (मंगलबार) उहाँ (ढाकाकुमार)सँग सोधपुच्छ गरेका छौँ, उहाँले अडियो उक्त आवाज आफ्नो नभएको दाबी गर्नुभएको छ। त्यो अडियो कसैले क्यारिकेचर गरेर बनाइएकोले आफूलाई पार्टीले कारबाही गरे पार्टीको कोर टिमबारे सार्वजनिक रुपमै खुलासा गरिदिने उहाँले बयानका क्रममा भन्नुभएको छ,’ छानबिन समितिका एक सदस्यले बिएल नेपाली सेवासँगको टेलिफोन संवादको क्रममा भने।

ती सदस्यले कोर टिम के हो ? को–को छन् भन्नेबारे ढाकाकुमारले केही नबोलेको बताए। स्रोतका अनुसार महामन्त्री मुकुल ढकाल र सदस्य जिता बराल उनीभन्दा अघि नै विवादित छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग नियमित सम्पर्कमा थिए। 

छानिबिन समितिले ढाकाकुमारसँग मंगलबार करिब १ घण्टा सोधखोज गरेको थियो। सो समितिले ढाकाकुमारको प्रतिवेदन मंगलबार नै पार्टी नेतृत्वलाई इमेलमार्फत् पाठएको छ। रास्वपाको अनुशासन तथा आचरण समितिका संयोजक भरतमणि देवकोटा हुन्। भने, सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी छन्।

यता उक्त प्रतिवेदन पढिरहेका सभापति लामिछाने भने थप दबाबमा परेका छन्। उनले आइतबार नै ७० घण्टाभित्र ढाकाकुमारलाई कारबाही गर्न नसके आफूलाई गढीमाईमा बली चढाउनु भनेका थिए। रविले भनेको ७० घण्टा पुग्न अब केही घण्टा मात्रै बाँकी छ। त्यो अवधिभित्र प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा अहिले पार्टीपंक्ति अलमलमा छ। जसबारे छलफलको लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बैठक आव्हान गरिएको छ।

ढाकाकुमारले मंगलबार दिएको बयान र आज आउने अन्तिम निर्णय रास्वपाको लागि महंगो सावित हुन सक्ने देखिएको छ। रास्वपाले ढाकाकुमारलाई कारबाही ग¥यो भने सभापति रवि लामिछानेको ‘कोर टिम’ वा पार्टीको गोप्य कुरा बाहिरिन सक्ने जोखिम छ भने कारबाही गर्न नसके पार्टी र सभापति लामिछानेमाथि नैतिकताको प्रश्न चिन्ह खडा हुने निश्चितै छ।

ढाकाकुमारले आफूलाई स्वास्थ्य मन्त्री बनाउनको लागि रवि लामिछानेको ‘कोर टिम’ले अढाइ करोड पैसा मागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग मन्त्री बनेपछि काम गरिदिने प्रलोभन देखाएर २ करोड पैसा मागेको अडियो सार्वजनिक भएको छ। अडियोमा ढाकाकुमारले पार्टीभित्र दुई–तीन जनाको ‘कोर टिम’ भएको बताएका छन्।

ढाकाले मसँग पैसा माग्नुभएकै हो, होइन भन्नुहुन्छ भने कालो बोको काटेर दक्षिणकाली छिरौँ– प्रसाईं

प्रकाशित मिति: : 2023-04-12 09:10:00

प्रतिकृया दिनुहोस्