ढाकाले मसँग पैसा माग्नुभएकै हो, होइन भन्नुहुन्छ भने कालो बोको काटेर दक्षिणकाली छिरौँ– प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले आफूसँग दुई करोड पैसा मागेको सत्य भएको बताएका छन्।

सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नको लागि भन्दै प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि प्रसाईं उक्त अडियोमा गरिएका कुरा सत्य भएको प्रस्ट पारेका छन्।

‘स्वास्थ्य मन्त्री हुने कन्फर्म भएपछि उहाँसँग रास्वपाले पैसा मागेको रहिछ, उहाँ (सांसद श्रेष्ठ)ले आफूसँग पैसा नभएको भन्दै मसँग माग्नु भएको थियो,’ प्रसाईंले भने,‘मैले पुस मसान्तको टाइम छ, अलिकति अप्ठ्यारो हुन्छ पैसा मिलाएर दिन्छु भन्या हो।’

श्रेष्ठले पैसा मागेपछि आफूले सल्लाह गरौँला भनेको तर पैसा नदिएको प्रसाईंको भनाइ छ।

उक्त अडियो श्रेष्ठकै हो भन्नेमा कुनै शंका नरहेको प्रसाईंले दाबी गरे। ‘उहाँले मैले सुने पनि यो अडियो मेरो होइन भन्नुहुन्छ भने उहाँले एउटा काम गर्न सक्नुपर्छ ? उहाँले धर्म मान्नुहुन्छ वा मान्नु हुँदैन ? दक्षिणकाली मातामा कालो बोको काटेर छिर्‍यौ न सत्य र असत्य त्यही थाहा भइहाल्छ नि।’

स्वास्थ्य मन्त्री बन्नको लागि मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन  गरेको छ।

सांसद श्रेष्ठ पोखराका हुन्, उनमाथि पोखराको साथी किसान कृषि सहकारी संस्था लि.का बचतकर्तालाई ठगी गरेको आरोपसमेत लागेको छ।

प्रकाशित मिति: : 2023-04-09 17:08:00

प्रतिकृया दिनुहोस्