वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाएका छन्। बँदेल, हरिण र नीलगाई (घोडगदाहा)ले बाली नोक्सान गरेर धुरुक्क रुवाएका बेला यादवलाई खेतबारीका कुना–कुनामा बिजुली (स्थानीय जनबोलीमा बिजली) बालेर ठाउँ–ठाउँमा ‘धुआ’ (बुख्याचा, झिलुङ्गो) ठड्याइएपछि अलि राहत भएको हो।
'यसपालि कोवी, बन्दा र केराउसहितको बाली बँदेल, हरिण र नीलगाईले भसक्क पारे', यादवले भने, 'ढिलै भए पनि खेतबारीका सुरसुरमा बिजली बालेर धुआ ठड्याएपछि यी वन्यजन्तु अलि हच्केका छन्।' यादवले जस्तै सो बस्तीका अन्य किसानले पनि यो तरिका अपनाएपछि वन्यजन्तुको बिग्याइँ कम भएको बताएका छन्। 'आँखा झिमिक्क गर्न पाइन्नथ्यो, अहिले अलि राहत भएको छ', यादवकै छिमेकी तरकारी किसान बहुरा महतो भने, 'पहिले–पहिले बाबुबाजेले अपनाएका यो तरिका वन्यजन्तुबाट बाली जोगाउन ठिकै रहेछ।'
मकै, गहुँ, उखु र तरकारी बाली लगाइएका खेतबारीमा ‘धुआ’ ठड्याउने पुरानै चलन हो। अहिले यो पुरानो जुक्ति पछ्याएर गरिएको कामबाट बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसानले सन्तोष महसुस गरेका छन्। 'बिजुली पहिले नहुँदा त्यतिखेरका किसानले बाली भएको खेतबारीमा राँको बाल्ने र बुख्याचा ठड्याउने गर्थे भन्ने त बाबुबाजेबाट सुनिएकै हो, यो पुरानो चलन हराएको थियो', सो बस्तीकै अर्का किसान अरुण गिरीले भने, 'पुरानो यो विधि प्रभावकारी नै रहेछ।' यो तरिका खासै खर्चिलो नभएको किसान बताउँछन्। बिजुली बाल्न धेरथोर खर्च भए पनि ‘धुआ’ त पुराना झुत्राझुत्री लुगा र बाँसका भाटाले नै ठड्याउन सकिने हुँदा खर्च नलाग्ने किसानको भनाइ छ।
'हैरान भइन्थ्यो, राती पनि सुत्न पाइन्नथ्यो', खासमा बँदेलले गर्ने नोक्सानबाट वाक्कदिक्क भएका बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्र महतोले भने, 'यसपालि हिउँदमा चाहिँ तरकारी बारीमा तीन–चार ठाउँ बिजुली बालेर धुआ (मैथिलीमा मुर्कट पनि भनिन्छ) ठड्याइएपछि अलि राहत भएको छ।' वन्यजन्तुले बाली खाएको देखेपछि लघार्दा कैयौँ बस्तीमा नीलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ।
पछिल्ला केही वर्षयता महोत्तरीमा वन क्षेत्रबाट जिल्लाको भारतीय सीमावर्ती भेगसम्म नीलगाई र बँदेल बस्ती–बस्ती पसेर बालीनाली नोक्सान गरेपछि किसान दिक्क हुँदै आएका छन्। दुम्सी र बाँदरचाहिँ वनक्षेत्र नजिकका बस्तीमा मात्र पसे पनि बँदेल, हरिण र नीलगाई सुदूर दक्षिणी भेगसम्म देखिएका छन्। दिनभरि घारितिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, नयाँ उखुका हुर्कँदै गरेका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान नै पारेका बेला ‘धुआ’ र ‘बिजुली’ले आपूmहरूलाई राहत दिएको किसानको भनाइ छ।
'नजिकै बिजलीको बल बलेको हुन्छ, अनि हातमा लौरो लिएको धुआ ठडिएको देखेपछि मान्छे ठानेर बँदेल र नीलगाई हच्कँदा रहेछन्', बर्दिबास–६ मनहरिपुरका तरकारी किसान विन्देश्वर यादवले भने 'उज्यालो बत्तीमा जङ्गली जन्तु हिँडेको पनि वरैबाट देखिने भयो, हल्लीखल्ली गरेपछि भाग्ने भएका हुँदा अहिले क्षति कम भएको छ।'
पछिल्लोपटक भङ्गाहा र बर्दिबास नगरक्षेत्रका किसानले अपनाएका यो तरिका अब जिल्लाका अन्य भेगका किसानले पनि बाक्लै अनुशरण गरेका छन्। 'बिजलपुरा आफन्त भेट्न गएको थिएँ, त्यहाँ बिजुली र धुआ वन्यजन्तुको क्षति रोक्न प्रभावकारी बनेको देखेँ', नगरपालिका–१० बटुवाका किसान लक्ष्मीप्रसाद सिंह कुशवाहाले भने, 'आफ्नो बस्ती फर्केर यो उपाय अपनाएँ, अहिले त धेरै किसानले यो सिको गर्नुभयो।'
बस्ती–बस्तीका किसानले खेत–खेतमा बिजुली बालेपछि जताततै चहकिलो उज्यालो देखिन थालेको छ। चहकिलो उज्यालोमा बुख्याचा (धुआ)को हातमा ठड्याइएको लठ्ठीलाई मान्छे ठानेर वन्यजन्तु हच्केपछि बाली नोक्सान घटेको बर्दिबास–३ कालापानीका नरबहादुर पुलामी बताउछन्। यो तरिकाले वन्यजन्तुबाट मात्र नभई तरकारी, केराका घरी र अन्य फलपूmल चोरी हुने घटना पनि कम हुँदै गएको किसानले बताएका छन्।
अहिले महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवं बटेश्वर गाउँपालिकाका बस्ती–बस्तीमा वन्यजन्तुबाट बाली जोगाउन किसानले ‘धुआ’ र ‘बिजुली’को उपाय बाक्लै अपनाएका देखिन्छ।
वन्यजन्तुले हैरान बनाइएका किसानले यसअघि वन कार्यालय र स्थानीय प्रहरी प्रशासनलाई थुप्रैपटक गुहारे पनि नियन्त्रणको प्रयत्न भएको थिएन। अहिले किसानले आफ्नै पहलकदमीमा थालेको परम्परागत ‘धुआ’ र ‘बिजुली’ अब भने प्रभावकारी बनेको देखिएको छ। किसानले अपनाएका यो तरिकाले बाली जोगाउनसँगै वन्यजन्तु मारिने घटना पनि पातलिने कृषि क्षेत्रको सहसचिव पदको सरकारी सेवाबाट अवकाश लिनुभएका भङ्गाहा–५ का बासिन्दा रामबहादुर भुजेलको भनाइ छ।