रवि लामिछानेलाई फेरि अर्को तनाव, हैरान मान्दै भने– अझै कति लतारिनुपर्ने हो ?

फाइल तस्विर
फाइल तस्विर

‘नेपाली जनताको फैसलाको अगाडि कुनै फैसलाले काम गर्ने छैन, बस् समयको प्रतीक्षा मात्रै गर्नुपर्छ। जब उपयुक्त समय आउनेछ, त्यतिखेर यो देशको भविष्यको फैसला नेपाली जनताले गर्नेछन्, म त्यो दिनको प्रतीक्षा गर्नेछु, म धैर्यवान भएर त्यसदिनको प्रतीक्षामा बस्नेछु। त्यो यात्रा चलिरहँदा, त्यसबेलासम्म मेरो अवस्था के हुन्छ ? म आज भन्न सक्दिनँ। म कहाँ हुन्छु ? कहाँ पुर्‍याइन्छु ? त्यो पनि म भन्न सक्दिनँ।’

नागरिकता प्रकरणमा सर्वाेच्च अदालतको फैसलापछि प्रतिनिधिसभा सदस्य र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदच्युत भएको केही दिनपछि चितवन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गरेको भाषणको वाक्यांश हो, यो।

प्रतिनिधिसभा निर्वाचनबाट नसोचेको नतिजा प्राप्त गरी सरकारका तीन मन्त्रालय हाँकिरहँदै गर्दा विगतको त्रुटिले आइलागेको ठुलो संकटलाई ‘षडयन्त्र’ परिभाषित गर्दै फेरि पनि आफूलाई कहाँ पुर्‍याइन्छ थाहा नभएको आशंका व्यक्त गरेका थिए।

यो आशंका व्यक्त गरिरहँदा उनको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अनुसन्धानकै क्रममा थियो। सो मुद्दामा पनि महान्यायाधिवक्ताको कार्यालयले ‘क्लिन चिट’ दिएपछि रवि फुरुङ्ग भएर उपनिर्वाचनको तयारीमा लागे । राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णयपछि चुनावी मैदानमा उत्रिएका लामिछानेले आफू मात्रै नभएर अन्य दुई क्षेत्रबाट पनि आफ्नो पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउने दाबी गरिरहेका छन्।

सबै मुद्दाबाट उन्मुक्ति पाएपछि फेरि संसद फर्किने सपना बुनेर चुनावी ‘ब्याटल’मा उत्रिएका लामिछानेमाथि फेरि अर्काे झन्झट आइलागेको छ। अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेको राहदानी मुद्दामा महान्यायाधिवक्ताले गरेको निर्णय बदर गर्नुपर्ने मागसहित सोमबार सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन्। सो मुद्दाको आज प्रारम्भीक सुनुवाइ हुने तय भएको थियो। तर, न्यायाधीश अनिलकुमार सिन्हाले सो मुद्दा हेर्न नमिल्ने भनेर सुनुवाइ गर्न अस्वीकार गरेपछि रोकिएको छ। जसकाे सुनुवाइ भाेलि (बुधबार)काे लागि ताेकिएकाे छ।

त्यस्तै अधिवक्ता पौडेलले नै लामिछानेले उपनिर्वाचनको लागि चितवन क्षेत्र नं. २ मा गरेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पनि दर्ता गरेका छन्। पौडेलले मंगलबार उजुरी दर्ता गरेका हुन्। संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिले कम्तिमा तीन महिनासम्म निर्वाचित हुन नपाउने व्यवस्था गरेकाले लामिछानेको उम्मेदवारी खारेजीयोग्य रहेको उजुरीमा जिकिर गरिएको छ।

नयाँ जाेश र उत्साह बाेकेर चुनावी मैदानमा उत्रिएका रविलाई पुन: यी दुई उजुरीले जटिल माेडमा लैजान सक्ने अनुमान गरिएकाे छ। विगतमा पनि रविले नागरिकताकाे विषयलाई सामान्य भन्दै हिँडेरहेका थिए। यद्यपि, त्यही खेलाँचीकाे विषयले रविका तीन पद खाइदिएकाे थियाे। त्यसैले अहिलेका यी उजुरी पनि रविका लागि भारी पर्न सक्छ।

भिक्टिम नभएकाे केसमा बारम्बार लतारिन आवश्यक छैन– रवि लामिछाने

राजधानीमा ती दुई उजुरी परिरहँदा लामिछानेले मंगलबार नै चितवनबाट काेही पीडित नभएकाे आफ्नाे मुद्दालाई बारम्बार उल्ट्याउन आवश्यक नरहेकाे प्रतिक्रिया दिएका छन्।

‘एउटा मान्छेलाई आफ्ना सबै कुरा सार्वजनिक गरेपछि भिक्टिम नभएको केसमा बारम्बार लतारिरहनुपर्ने आवश्यकता म देख्दिनँ। लड्न म तयार छु तर बारम्बार लतारिनुपर्ने आवश्यकता देख्दिनँ,’ उनले भने,‘त्यही पनि ठिक छ, केही फरक पर्दैन। हाम्रा पू्र्खाुले त्यत्रो लडाइँ लडे, मैले दुईवटा मुद्दासँग लड्न नसक्ने होइन। मेरो मुटु त्यति कमजोर पनि छैन। म अन्तिम सास रहुन्जेलसम्म लड्छु।’

केही महिनाअगाडि चितवन पुगेर आफूमाथि षड्यन्त्र गरेर कहाँ पुर्‍याइने हाे भन्ने आशंका गरेका रविले फेरि आफूमाथि बाराम्बार मुद्दा परेर हैरानी भएकाे प्रष्ट पारेका छन्। जे भए पनि उनीविरुद्ध परेकाे उजुरीमाथि अदालतले अनिवार्य निष्कर्ष निकाल्नुपर्नेछ, जसकाे परिणाम जे पनि हुन सक्छ।

उनले आफूलाई राजनीतिबाट अलग गराउन षड्यन्त्र भइरहेकाे दाबी गरेका छन्। ‘अहिलेसम्म सबै सजायहरु मैले भोगेँ नि। अब यो बिचमा मैले के सजाय भोग्नुपर्ने हो ? मैले के गर्नपर्ने हो ? मैले राजनीति छाड्दिनुपर्ने हो र ? मलाई राजनीतिबाट छुटाउने माग गरिएको छ तर त्यो सम्भाव छैन,’ उनले भने।

उनले आफूमाथि मुद्दा लगाइदिनु समृद्धिको लागि एउटा आशाका दियो बालेको मान्छेलाई फुकेर निभाउन कोसिस गर्नुबाहेक अरु केही नभएकाे बताए।

प्रकाशित मिति: : 2023-04-04 19:25:00

प्रतिकृया दिनुहोस्