अबकाे पाँच वर्षमा हामीले एकल सरकार चलाउँछाैँ: रवि लामिछाने

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबकाे पाँच वर्षमा आफूले एकले सरकार चलाउने दाबी गरेका छन्। 

वैशाख १० गते हुने उपनिर्वाचनका लागि चुनावी प्रचार गर्न चितवन पुगेका सभापति लामिछानेले जनमत बाँडिएर आएकाे कारण पाँच वर्षभित्र आफूले एकल बहुमतको सरकार बनाउने बताएका हुन्।

'मलाई थाहा छ, नेपाली जनता कस्ता मन्त्री चाहन्छन्, कस्ताे मन्त्रीमण्डल चाहन्छन्? काे-काे मान्छे मन्त्री भएकाे हेर्न चाहन्छन्, कस-कसलाई प्रधानमन्त्री भएकाे हेर्न चाहन्छन्, मलाई राम्राेसँग थाहा भइसकेकाे छ', उनले भने, 'अब हामी फेरि एक पटक नेपाली जनताकाे आवाज अझ बुलन्द गर्दै अगाडि जानेछाैँ। अनुभव लिनुपर्ने छ। किनभने जनमत बाँडिएर आएकाे छ। त्यस कारणले मलाईके थाहा छ भने अबकाे पाँच वर्षमा हामीले एकल सरकार चलाउन हाे। त्यतिखेर केही थाहा नपाएकाे हुने छैन।'

उनले आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालेकाे समेत बताएका छन्। ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन। मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु’, उनले भने, ‘मैले केही लुकाएको र छिपाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन।’

लामिछानेले ६ महिनाभित्र २० जना सांसद संसद जाने पार्टी संसारमा विरलै हुने दाबी समेत गरेका छन्। ‘नयाँ शक्ति आएर देश बनाउँछ कि हाम्रो बेथितिविरुद्ध बोल्छ कि भनेर डराएका छन् । अब यो रास्वपा व्यक्तिको पार्टी होइन, यो सबैको पार्टी हो। कसैसँग गलत सम्झौता नगरी संसद, सडक र विपक्षीको अनुभव लिनुपर्नेछ’, उनले भने, ‘अरु राजनीतिमा लागेर सम्पत्ति कमाउँछन्, मैले बुवाबाजेको सम्पत्ति सकाइसकेको छु। विश्वको कुनै पनि कुनामा गएर आनन्द र सुखले बस्न सक्ने थिएँ तर ६ महिनाभित्र २० जना सांसद लिएर जाने पार्टी संसारमा विरलै हुन्छन्।’

‘कसैले ठुला कुरा नगरे हुन्छ, सबै पार्टीको धन्दा भनेको हाम्रो पार्टीलाई सकाउनु हो’, उनले भने, ‘देशले खोजेका रमेश खरेल र स्वर्णिम वाग्ले जस्तालाई हामीले उठाएका छौं, एक जनाको बदला तीन सांसद लिएर जान्छौँ, हेर्दै गर्नु।’

प्रकाशित मिति: : 2023-04-04 13:16:00

प्रतिकृया दिनुहोस्