रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दाको आज सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ।अधिवक्ता युवराज पौडेल 'सफल'ले सोमबार दर्ता गरेको रिटमाथि  प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो।

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार नै सर्वोच्च अदालत पुगेका थिए । तर,  मुख्य रजिस्ट्रारले अध्ययन गरेपछि रिट दर्ता गरिने भनेकाले  सोमबार मात्र दर्ता भएको हो। सोही रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

पौडेलले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्न माग गरेका छन् ।

आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकता पेश गरी पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन्। 

त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन्। 

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के र कुन प्रयोजनका लागि प्रयोग (दुरुपयोग) गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने उनको माग रहेको छ। दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा माग गरेका छन्। 

प्रकाशित मिति: : 2023-04-04 05:44:00

प्रतिकृया दिनुहोस्