प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आज विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने क्रममा प्रहरीले अश्रुग्याससँगै हवाई फायर गरेको छ।
कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो।
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो। त्यसलाई तोडेर प्रदर्शनकारी अगाडि बढेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो। त्यस क्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले रोडसेस चोक क्षेत्रबाट पक्राउ गरेको छ।
भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको थियो। प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका छन्।