ट्राफिक प्रहरीले सुरू गर्याे ‘पैदलयात्री सचेतना अभियान’

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ्ग तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतना अभियानको सुरुवात गरेको छ।

जेब्राक्रसिङ्ग तथा आकाशे पुल प्रयोग गरौँ भन्ने प्ले कार्ड नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक-चोकमा बसेर अभियानको सुरुवात गरेको हो।

दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोशपुल र जेब्राक्रसिङ्गबाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाइ-बुझाइ गरेको छ।

सम्झाइ-बुझाइका क्रममा काठमाडौँको न्युरोड, बालकुमारी, जडिबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार गर्न लगाइएको थियो।

यस्तै ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङ्गमा रोक्ने, फुटपाथमा साइकल चलाउनेलगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साइकलका चालकहरूलाई पनि सम्झाइ-बुझाइ गरेको छ।

काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बूढानीलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाइ-बुझाइ गरिएको हो।

'काठमाडौँ उपत्यकामा गत आर्थिक बर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आ.व.को हाल सम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ। यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीहरुमा ट्राफिक सचेतना अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरि दुर्घटनामा कमी ल्याउन मद्दत पुग्नेछ', काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले भने।

यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो। आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङ्गबाट मात्रै सडक वारपार गर्न र ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोध समेत गरेका छन्।

प्रकाशित मिति: : 2023-03-15 13:24:00

प्रतिकृया दिनुहोस्