बाँकेको डुडुवा गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँका सबै वडामा गाईभैंँसी पाल्नेको सङ्ख्या उलेख्य छ।
यहाँका किसान पशुपालनलाई व्यावसायका रूपमा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएका छन्। पालिकाभित्र पशुपालनका साथै कृषि उत्पादन गरी जीविकोपार्जन गर्नेको सङ्ख्यामा कमी छैन।
जिल्लामा सबैभन्दा बढी कृषि उत्पादन हुने पालिकाका रुपमा डुडुवा रहेको छ। भारतीय सीमासँग जोडिएको वडा नं ६ हिरमिनियाँ कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित छ।
जिल्लाका आठ वटा स्थानीय तहमध्ये नदीनाला भएको पालिकाको रुपमा डुडुवालाई लिइन्छ। राप्ती नदी नेपाल र भारतमा एउटै नामले परिचित छ। बाँकेमा प्रवेश गर्दा यो नदी राप्तीसोनारी गाउँपालिका भएर डुडुवा गाउँपालिकामा प्रवेश गरेको छ। भारततिर जाँदा भारतको सीमा क्षेत्र र नेपालको बाँकेको नरैनापुर गाउँपालिका भएर बगेको छ।
यस पालिकाले किसानका लागि अनुदान उपलब्ध गराउनाका साथै कृषि उत्पादन बढाउन कृषि प्रसार सेवा कार्यक्रमअन्तर्गत किसानको समूह बनाइ अनुदान दिने गरेको डुडुवाका किसान नेपाल धोबीले बताए।
उनका अनुसार कृषि उत्पादन वृद्धिका लागि पालिकाले प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ। अघिल्ला वर्ष पनि कृषिक्षेत्रलाई लक्ष्य गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।
चालु आर्थिक वर्षमा कृषिप्रसार सेवा कार्यक्रमअन्तर्गत धान, मकै, गहुँ र तरकारीमा लाग्ने किटाणु नष्ट गर्न किटनाशक विषादी खरिद गरी प्रत्येक घरधुरीलाई वितरण गरिएको डुडुवा कृषि शाखा प्रमुख सुशील शर्माले बताए।
उनका अनुसार कृषि साझेदारी कार्यक्रमअन्तर्गत किसान, किसानका समूह र सहकारीलाई अनुदान प्रदान गरिएको छ। 'पाँच समूहलाई तरकारी र च्याउ उत्पादन गर्न दिइएको छ', प्रमुख शर्माले भने, 'पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत किसानका पाँच समूहलाई तरकारी र च्याउ उत्पादनका लागि अनुदान प्रदान गरिएको छ।'
व्यावसायिक नगदेबाली र बीउवीजनसम्बन्धी कार्यक्रमअन्तर्गत पाँच समूहका किसान, एउटा सहकारीलाई उन्नत जातको गहुँको बीउ अनुदानमा वितरण गरिएको र सिँचाइ समस्या समाधानका लागि पालिकाले साना किसान सिँचाइ कार्यक्रमअन्तर्गत सिँचाइ तथा निर्माण सामग्री वितरण गरिएको छ। किसान, समूह र सहकारीलाई पानी तान्ने मोटर, पाइप र पम्पसेट पनि वितरण गरिएको छ।
पालिकाले भकारो सुधार कार्यक्रम र विदेशबाट फर्किएका युवा कार्यक्रमअन्तर्गत एक सय ६७ जनालाई तरकारी तथा बाख्रापालनका लागि अनुदान उपलब्ध गराउनाका साथै सबै वडामा २४ सहकारी समूहलाई धानको बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको किसान विजयकुमार यादवले बताए।
पालिकाको कृषि शाखाका अनुसार उन्नत जातको बीउ वितरणअन्तर्गत ५० प्रतिशत अनुदानमा आठ समूह, पाँच सहकारीका सात सय ६५ जनालाई गहुँको उन्नत बीउ वितरण गरिएको छ। सोही कार्यक्रमअन्तर्गत धानको उन्नत बीउ ५० प्रतिशत अनुदानमा आठ समूह र आठ सहकारी गरी नौ सय ५५ जनालाई वितरण गरिएको छ।
यस्तै बाली संरक्षण सेवा विषादी वितरण कार्यक्रमअन्तर्गत नौ सय २१ किसानलाई कीटनाशक तथा ढुँसीनाषक विषादी वितरण गरिएको छ। माटोे परीक्षणका लागि मिनी माटो प्रयोगशाला स्थापना गरिए पनि सामग्री अभावका कारण सञ्चालन हुन नसकेको कृषि शाखा प्रमुख शर्माले जानकारी दिए।
मागमा आधारित कृषि अनुदान कार्यक्रमअन्तर्गत तीन समूह र छ व्यवसायिक अगुवा किसानलाई अनुदान प्रदान गरिएको छ।
साना कृषि औँजार तथा यन्त्रउपकरण अनुदानअन्तर्गत ५० प्रतिशत अनुदानमा ४८ समूह छनोट भई १७ समूहले २०७८ माघ मसान्तसम्म भुक्तानी लिइसकेका छन्।
खेतीयोग्य जमिन
यहाँ ४६ दशमलव २१ प्रतिशत खेतीयोग्य जमिन छ। क्षेत्रफलका हिसाबमा कूल नौ हजार एक सय २८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा चार हजार दुई सय १८ दशमलव ९ मा मात्रै खेती हुँदै आएको कृषि शाखाले जनाएको छ।
सबैभन्दा बढी वडा नं २ मा एक हजार २९ हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार ९२ दशमलव ५८ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ। वडा नं १ मा एक हजार नौ सय २० हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार २४ दशमलव एक हेक्टरमा खेती हुँदै आएको छ।
वडा नं ३ मा एक हजार चार सय ४९ हेक्टर जमिनमध्ये सात सय ४० दशलमव ६७ हेक्टरमा, वडा नं ४ मा सबैभन्दा कम सात सय आठ हेक्टर क्षेत्रफल जमिनमध्ये तीन सय ५१ दशमलव ३१ हेक्टरमा, वडा नं ५ मा एक हजार नौ सय ६८ हेक्टर जमिनमध्ये चार सय ३१ दशमलव ३५ हेक्टरमा र वडा नं ६ मा एक हजार ५४ हेक्टर क्षेत्रफल जमिनमध्ये पाँच सय ७८ दशलमव १८ हेक्टरमा खेती हुँदै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख शर्माले जानकारी दिए। राकेशकुमार मिश्र