लोक कल्यायणका लागि नेपालमा पहिलोपटक श्री विष्वक्सेन इष्टि महायज्ञ

फाइल तस्बिर
फाइल तस्बिर

विश्व शान्ति, विघ्नहरण र लोक कल्यायणका लागि नेपालमा पहिलोपटक श्री विष्वक्सेन इष्टि महायज्ञ चलिरहेको छ। 

जीयर शैक्षिक संस्था नेपाल, विकास तरङ्गिणी एवं श्री वेङ्कटेश मन्दिर तथा सेवा सदन निर्माण समितिले आयोजना गरेको कार्यक्रममा दैनिक हजारौँ मानिस सहभागी भइरहेका छन्। काठमाडौँ महानगरपालिका–६ श्रीनिवास नगर कुमारीगालमा भइरहेको महायज्ञमा श्री जीयर शैक्षिक ट्रष्टका संस्थापक त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामी पनि नेपाल आएका छन्। 

उनको उपस्थितिमा फागुन २५ गतेदेखि महायज्ञ सुरु भएको हो। स्वामीको नेपाललगायत १३ देशमा आश्रम रहेको जनाइएको छ। संस्कृत एवं आगम शास्त्रको रक्षाका लागि काम गर्दै आभएका स्वामीले विभिन्न स्थानमा गुरुकूल एवं शैक्षिक संस्था सञ्चालन गर्नुभएको छ। नेपालमा पनि पञ्चदिवसीय कार्यक्रमबाट जम्मा भएको स्रोतले श्री वेङ्कटेश मन्दिरसहित गुरुकूल र सेवा सदन निर्माण गरिने छ। फागुन २५ गते स्वामीले नै श्री वेङ्कटेश मन्दिरको शिलान्यास गरेका छन्। 

नारायणसंहितामा उल्लेख भएको विष्वक्सेन महायज्ञमा नेपाल र भारतका करिब ७० जना ब्राह्मण गुरुको सहभागिता रहेको छ। नवकुण्डात्मक महायज्ञमा पाञ्चरात्र आगम विधिअनुसार महायज्ञ भइरहेको छ। शास्त्रीय मान्यता अनुसारका हवनीय वस्तुको महायज्ञमा प्रयोग गरिरहेको वाल्मीकि विद्यापीठका प्रा डा पद्मप्रसाद भट्टराईले नकारी दिए। महायज्ञमा स्थानीय गाईको घ्यु नै प्रयोग भइरहेको छ। 

महायज्ञमा शुक्ल यजुर्वेद, कृष्ण यजुर्वेद र सामवेद, रामायणलगायत ग्रन्थको पाठ पारायण पनि भइरहेको छ। पाँच दिनको यो कार्यक्रममार्फत वेद विद्याको रक्षा गर्ने मुख्य उद्देश्य राखिएको छ। महायज्ञमा श्री वेङ्कटेश मन्दिर निर्माणका लागि विनोद मोर एकै जनाले रु २५ लाख सहयोग गरेको जानकारी पनि उनले दिए।

जीयर शैक्षिक संस्थाअन्तर्गत विकास निर्माणका काममा विकास तरङ्गिणी नामक संस्थाले काम गरिरहेको संयोजक उमा भट्ट पराजुलीले बताइन्। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको नन्दी रात्रि माध्यमिक विद्यालयको भवन पनि करिब रु दुई करोडको लागतमा संस्थाले नै निर्माण गरिदिएको जानकारी पनि उनले दिइन्। देशभर यस्ता सेवाका अन्य काम पनि गरिने जनाइएको छ।
 

प्रकाशित मिति: : 2023-03-12 20:17:00

प्रतिकृया दिनुहोस्