दाङमा एक ३७ वर्षीया युवतीको मायाजालमा पर्दा ७५ वर्षीय बृद्ध (जेष्ठ नागरिक)को चिल्लीबिल्ली भएको छ। लमही नगरपालिका– ९ अमिलियाका जानकिलाल बस्नेत युवतीको मायाजालमा पर्दा लाखौंको सम्पत्ति गुमाएका छन्।
युवतीको मायाँले उनले एक लाख बढी नगद र १२ कठ्ठा १५ धुर जग्गा गुमाएका छन्। ती बृद्धको दुई छोरी छिन्। उनीहरुको बिहे भइसकेको छ। एक छोरा कामका लागि भारतको गोवामा छन्। उनको श्रीमती वितेको १० वर्ष भएको छ भने वृद्ध साहारा खोज्दै जाँदा ३७ वर्षीया युवतीले मायाजालमा पारी सम्पत्तिविहीन बनाइदिएकी छिन्।
फोनबाट मायाजाल, सम्पत्ति हत्याएपछि भएन बोलचाल
उमेरले ७५ वर्ष पुगेका बस्नेत छोरा–छोरीसँग बस्न नपाउँदा साहराविहीनको महसुस गरिरहेका थिए। हरेक दिन एक्लो घरको बसाइँले उनलाई कसैको साहरा पाउने लालसा पलाइरहेको थियो, अनि उनी बिहे गर्ने सोचमा हिँडे।
एकदिन गाउँमा नै तुलसीपुरकी एक महिलासँग भेट भयो। उनीहरुबीच कुराकानी हुँदा ती महिलाले बस्नेतलाई एउटी पालन पोषण गर्ने महिला रहेको जानकारी दिइन्। र, बिहेकै खोजीमा रहेको कुरा बताइन्।
ती महिलाले बस्नेतलाई विहेको खोजीमा रहेकी महिलाको फोन नम्बर दिइन। त्यसपछि कथाले प्रेमको रुप लिएको हो। बस्नेतले आफूले पाएको नम्बरमा फोन गरे। त्यो फोन नम्बर तुलसीपुरकै ३७ वर्षीया युवतीको थियो।
बस्नेतले भनेअनुसार, ३७ वर्षीया युवतीसँग गएको जेठदेखि फोनमा कुरा हुन थालेको हो। त्यसपछि उनीहरुबीचमा निरन्तर फोन हुन थाल्यो। माया प्रेमका कुरा चल्न थाले। र, बिहे गर्ने सम्मको कुरा चल्यो।
बस्नेतले फोनमा चिनजान भएपछि पटक–पटक भेटघाट भएको पनि बताए। उनले भने, ‘गएको वर्ष जेठ अन्तिमदेखि हाम्रो कुरा हुन थालेको हो। हाम्रो पटक–पटक भेट पनि भएको छ।’
उनले चिनजान राम्रै भएपछि बिहेको प्रस्ताव गरे। उनले भने, ‘मेरो कोही छैन। मलाई साहरा चाहिएको छ। मैले बिहे गरौँ भने उनीले पनि हुन्छ भनिन्।’ त्यसपछि ती महिलाले आफूले बुढेसकालमा हेरचाह गर्ने भन्दै भएको जग्गा आफ्नो नाममा गर्ने भनि प्रस्ताव गरिन्। बस्नेले उनको कुरा सहजै स्वीकारे र गएको कार्तिक २८ गते अमिलियामा हरेको १२ कठ्ठा १५ धुर जग्गा उनको नाममा गरिदिए।
बस्नेतले जग्गा पास गर्नका लागि पटक–पटक गरी १ लाख ११ हजार रुपैयाँ दिएको बताए। ‘ऋण गरेर मैले जग्गा पास गर्नका लागि १ लाख ११ रुपैयाँ उसलाई दिएँ। मसँग भएको एउटा सुनको औँठी पनि दिएको छु,’ उनले भने।
ती ३७ वर्षीया युवतीले जग्गा पास गरेपछि विस्तारै बृद्ध बस्नेतसँग बोल्न कम गरिन। जग्गा पास गर्नुभन्दा अघि भेट गर्नसमेत नहिचकिचाउने उनी पछि फोन गर्नसमेत टाढिएको बस्नेले बताए। उनले भने, ‘पहिले दिनदिनै फोन गर्ने, कहिलेकाहीँ हप्तामा दुई पटकसम्म भेट हुन्थ्यो हाम्रो, बस्नेतले भने, तर जग्गा नाममा लगेपछि फोन गरिनन्। मसँग भेट गरिनन्।’
महिनौं दिनसम्म ती युवती सम्पर्कमा नआएपछि बस्नेत अहिले आफूलाई फसाएको भन्दै प्रहरी प्रशासनमा पुगेका छन्। प्रहरीले ती महिलालाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ। उनीविरुद्ध अदालतमा ठगी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए।