नेपाल मगर पर्यटन समाजले जीवन थापा मगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ।
शुक्रबार काठमाडौँको ठमेल पार्क होटलमा सम्पन्न समाजको १०औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन समारोहले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेकाे हाे।
पर्यटन प्रवर्धनमा क्रियाशील मगर पर्यटन समाजले विभिन्न ग्रामिण क्षेत्रकाे पर्यटन प्रवर्धनमा काम गर्दै आएकाे छ।
सम्पन्न १०औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन समारोहकाे अवसरमा विज्ञहरुले मगर संस्कृति पर्यटनको स्वादिलो प्रोडक्ट (उत्पादन) बन्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवम लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले मगर समुदायको संस्कृति र पहिचान जोगाउँदै पर्यटनबाट लाभ लिने वातावरण सिर्जना गर्न मगर पर्यटनकर्मीलाई धेरै भन्दा धेरै मगरहरुलाई पर्यटन उद्यमी बन्न प्रेरित गर्न आग्रह गरे।
‘सोचमा स्वभिमान मगर समुदाय पर्यटन क्षेत्रमा पनि इमान्दार भएर लागे विश्वका पर्यटकहरुलाई भरपुर सेवा र आथित्यता दिनेछ,’ उनले आफ्नो धारणा व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले भने,‘मगर समुदायको संस्कृति, रहसहन र खानपिनलाई राम्रोसँग ब्रान्डिङ गरेमा टुरिजमको गतिलो प्रोडक्ट बनाउन सकिन्छ।’ नेपाल पर्यटन बोर्डले सक्दो सहयोग गरेर हातेमालो गर्न सदैव तयार रहेको उनले बताए।
त्यस्तै नेपाल मगर संघका उपाध्यक्ष जीवन प्रवेश रोकाले नेपालमा धेरै स्थानमा मगर बाहुल्य गाउँहरु कला, संस्कृति र प्रकृतिले समृद्ध भएको र त्यसबाट पर्याप्त लाभ लिन पर्यटन व्यवासायी अगाडि बढ्नु पर्ने बताए।
‘मगर पहिचानको मुद्धालाई अगाडि बढाउँदै समाजको समृद्धीका लागि पनि सक्दो पहल गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो मौलिक मगर संस्कार, संस्कृति र खानपान प्रवर्धन गराैँ। सम्भाव्य ठाउँको सम्भावना एक्सप्लोर गरेर पर्यटन प्रवर्धन गरौं।’
कार्यक्रममा टानका अध्यक्ष निलहरि बाँस्तोला, गुरुङ पर्यटन समाजका अध्यक्ष पिताम्बर गुरुङ, तामाङ रिमठिमका अध्यक्ष अम्बर तामाङ, तनहुँ पर्यटन समाजका अध्यक्ष शुक्र श्रेष्ठ, शेर्पा पर्यटन समाजका अध्यक्ष संगम शेर्पालगायतको उपसथित थियो।
अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेकाे छ। जसमा जीवन थापा मगर अध्यक्ष, भुपाल मगर प्रथम उपाध्यक्ष, जितेन्द्र झाँक्री मगर द्वितीय उपाध्यक्ष, चन्दन थापा मगर महासचिव, डेम पुन मगर सचिव, भरत थापा मगर कोषाध्यक्ष कृपा राना मगर सहकोषाध्यक्ष रहेका छन्। त्यस्तै सदस्यहरुमा चीनबहादुर थापा मगर, केशरबहादुर थापा मगर, रञ्जु मगर, निर सरु मगर, सन्तोषी मगर र किरण थापा मगर छन।
उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ।
राजकुमार थापा नेतृत्वको कार्यकाल पूरा भएर नयाँ नेतृत्व आएको हो। थापाले नयाँ नेतृत्वलाई हस्तान्तरण गर्दै भने, ‘कोभिड संक्रमणका कारण हामीले सोचे अनुरुप काम गर्न सकेनौँ।’
यद्यपि, आफ्नो नेतृत्वमा रोल्पा-रुकुम-बाग्लुङ-वेनीमा पर्ने गुरिल्ला पदमार्ग, गोरखाको भुम्लिचोक होमस्टे, लखन थापा गाउँपालिकामा अल्ट्र म्यराथानको सम्भाव्यता अध्ययनलगायत विभिन्न होमस्टे तालिम र सिपमुलक कार्यक्रम संचालन गरेको प्रकाश पारेको थिए।
नयाँ कार्य समितीलाई शुभकामान तथा बधाई दिँदै थप नयाँ ग्रामिण पर्यटकीय गन्तव्यको खोज तथा प्रवर्धन गर्नेमा विश्वास लिएका छन।
समाजले मगर जीवनशैली, संस्कृति र खानपिनको ब्रान्डिङ सँगै पर्यटकीय प्रडक्ट निर्माण गरी थप नयाँ ग्रामिण पर्यटकीयस्थलको एक्सप्लोर गरी प्रवर्धन गर्ने निर्णय गरेका छन।
यसैगरी कार्यक्रममा मगर समुदायमा जन्मे/हुर्केर समाजमा उल्लेख्य योगदान दिएका तीन जनालाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा पूर्व गोर्खा सैनिक तथा पर्वतारोही हरि बुढा मगर, चर्चित कलाकार खड्गबहादुर पुन(खबपु) र सूचना प्रविधि विज्ञ राजन वावु थापा छन। उनीहरुलाई प्रमुख अतिथि तुलाराम घर्ति मगरले सम्मानपत्र प्रदान गरेका थिए।
नेपाल मगर पर्यटन समाज वि.सं. २०६८ मा कृष्ण मगरको अध्यक्षतामा गठन भएको हो। देश तथा विदेशका सबै मगर पर्यटन व्यवसायीहरुलाई एकजुट गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समाजको स्थापना गरिएकाे हो।
यो विशेषगरी दुर्गम क्षेत्रकाे सांस्कृतिक पर्यटन, पर्यावरण पर्यटन, ग्रामीण पर्यटन र होमस्टे पर्यटन प्रवर्धन गर्न पूर्ण रूपमा समर्पित हुने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा औपचारिक रूपमा दर्ता भएको गैर-नाफामूलक, गैर-सरकारी र गैरराजनीतिक संस्था हो।
स्थापना कालदेखि समाजले पर्यटन क्षेत्रमा आवद्ध मगर व्यवासायीहरुलाई एकजुट गराई, विभिन्न तालिम र गोष्ठिकाे आयोजनासहित ग्रामिण पर्यटकीय गन्तव्य र संस्कृतिलाई प्रवर्धन कार्यमा जुटिरहेकाे छ।