अमेरिकाले गायिका आस्था राउतलगायतका ७९ जना नेपालीलाई विमानस्थलबाटै फिर्ता गरिदिएको थियो । अमेरिकी ग्रिनकार्ड वा भिसा भएका उनीहरू विमानस्थलमा सीबीपी अधिकारीहरूको सोधपुछमा अमेरिका प्रवेशका लागि आवश्यक योग्यता नपुगेपछि फर्काइएका थिए।
अमेरिका उडेका सबै नेपाली अमेरिका पस्न सक्दैनन् । केही न केही संख्यामा नेपालीहरू हरेक वर्ष अमेरिका प्रवेश गर्ने विमानस्थलबाटै फर्काइन्छन् ।
यसरी फर्काइएका नेपालीहरूको आधिकारिक संख्या २०२१ मा ७९ रहेको आधिकारिक संख्या अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको हो ।
यसअघि २०२० मा ७६, २०१९ मा ९७, २०१८ मा ९६, २०१७ मा ९९, २०१६ मा २७३, २०१५ मा १९६ जना नेपालीलाई विमानस्थलबाटै फर्काइएको थियो ।
अमेरिका उडेका अमेरिकी राहदानीबाहक त अमेरिका पस्छन् नै तर जोसँग ग्रीनकार्ड वा अमेरिकी भिसा मात्र हुन्छ, उनीहरूले प्रवेश पाउँछन् नै भन्न सकिन्न ।
अमेरिका प्रवेश गर्ने गैर अमेरिकी नागरिकलाई विमानस्थलमा सीबीपी अधिकारीहरूले अमेरिका प्रवेशका लागि न्युनतम शर्त पूरा गर्छन् कि गर्दैनन् भनी सोधपुछ गर्छन् । यसरी सोधपुछका क्रममा मान्य भिसा नभएको, विगतमा भिसाका शर्तहरू उल्लंघन गरेको वा आपराधिक रेकर्ड भएको पाइएमा उनीहरुले अमेरिका प्रवेश गर्न पाउँदैनन् ।
यसरी अमेरिका प्रवेशमा रोक लगाइएकाहरूको अभिलेख राखेर सम्बन्धित देशमै पठाइन्छ। यसरी अभिलेख राखिएकाहरू सामान्यत: अर्कोपटक अमेरिका पस्न सक्दैनन् ।
सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई २०२१ को डिसेमबर १० मा डालसस्थित अध्यागमन कार्यालयले नेपाल फिर्ता पठाइदिएको थियो ।
पर्यटक भिसामा अमेरिका पुगेकी उनले आफू गायिका भएको र सांगीतिक कार्यक्रम गर्न आए बताएपछि पर्यटक भिसामा आएकोले पैसा लिएर सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै फिर्ता पठाइदिएको थियो ।