'नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ'

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन्। एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताएका हुन्।

'खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ। नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्', उनले भने। अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गरेका छन्। उनले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथुनमा कुद्ने बताएका छन्। अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्र नभई समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गराएका छन्।

अध्यक्ष ओलीले मानिस गलत संगतमा नपरोस् भन्नका लागि सही सङ्गततिर ल्याउनका लागि राजनीतिमा सहभागी गराउनुपर्ने बताएका छन्। उनले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति: : 2023-03-10 19:57:00

प्रतिकृया दिनुहोस्