बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी

माओवादी धारका नेताहरुको बैठक जारी छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (क्रान्तिकारी माओवादी)का सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (माओवादी)का खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरु सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नजिकिएका माओवादी नेताहरु एकाएक भेला भएका हुन्। उनीहरुबीच सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारे छलफल हुँदै आएको छ।

प्रधानमन्त्री प्रचण्डले केही समयअघि एक सार्वजनिक कार्यक्रममा पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने भनेर अभिव्यक्ति दिएपछि अहिले सर्वाेच्चमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

प्रचण्डको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दर्ता गर्न माग गरेका छन्।

प्रकाशित मिति: : 2023-03-07 09:31:00

प्रतिकृया दिनुहोस्