अमेरिकी जीवनकाे अँध्याराे पाटाेः गर्भवती छन्, प्रसूति गृह छैनन्

थाेरै जनसंख्या भएकाे एउटा सानाे गाँउ। प्राकृतिक सुन्दरताले भरिपूर्ण अनि विकास निर्माणमा अगाडि बढिरहेकाे ठाँउ। आ–आफ्नाे काममा व्यस्त मानिसहरू। गाउँमा ३५ जना मात्रै महिला छन्। तर उनीहरू गर्भवती छन्। उनीहरूकाे जीवन खतरामा छ। किनकि त्यहाँ सञ्चालित अस्पतालले प्रसूति वार्ड बन्द गरेको छ।

गाउँ छ। मानिसहरू छन्। महिलाहरू छन्। प्रसूति केन्द्र छ तर त्यहाँ स्त्री रोग विशेषज्ञ डाक्टर वा तालिम प्राप्त नर्स चाहिँ छैनन्।

यो कथा नेपालको कुनै दुर्गम गाउँको होइन। विश्वकाे सबैभन्दा विकसित देश संयुक्त राज्य अमेरिकास्थित वासिङ्टन राज्यकाे याकामा इन्डियना रिजर्वकाे हाे।

यस क्षेत्रकाे प्रसूति वार्ड बन्द हुनु अमेरिकामा कुनै एउटा अनौठो घटना होइन। किनभने अमेरिकी सरकारले सन् २०१५–२०१९ काे बीचमा त्यहाँकाे ग्रामीण क्षेत्रमा सञ्चालित अस्पतालहरूकाे ८९ प्रसूति इकाई बन्द गरेको थियो। तर सन् २०२० सम्म आइपुग्दा अमेरिकाको ग्रामीण क्षेत्रका झण्डै आधा अस्पतालले प्रसूति वार्ड बन्द गरेकाे थियाे। त्यस कारण पनि त्यहाँका महिलाहरूले गर्भवती अवस्थामा खतराकाे जीवन बाँचिरहेका छन्।

नेपालका गाउँमा अस्पताल, डाक्टर तथा प्रसूति वार्डको अभाव र तालिम प्राप्त कर्मचारीको अभाव देखिन्छ नै। तर विकसित देश अमेरिकामा पनि गर्भवती महिलाहरूका लागि खतरनाक मानिन्छ। कारण हाे, निरन्तर बढ्दै गएको मातृ मृत्युदर।

अमेरिकी मातृ मृत्युदर हेर्दा प्रति १ लाख महिला सुत्केरी हुँदा २३.८ प्रतिशत अर्थात् हरेक ५ हजार सुत्केरीमा एक जना सुत्केरीको मृत्यु हुने गरेको छ।

पछिल्लो तथ्याङ्कअनुसार अमेरिकाका अल्पसंख्यक मूल समुदायहरूमा यो जोखिममा अझ बढी छ। एक अध्ययनका अनुसार गोरा महिलाको तुलनामा अमेरिकी मूल निवासी महिलाहरूकाे बच्चा जन्माउने क्रममा मृत्यु हुने सम्भावना ३ गुणा बढी रहेकाे छ। र, उनीहरूकाे बच्चा जन्मेको एक वर्षभित्र मर्ने सम्भावना गोरा बालबालिकाको तुलनामा दोब्बर छ।मातृ स्वास्थ्यअन्तर्गत काम गर्ने एनजीओ मार्च फर डाइम्सका अनुसार अमेरिकामा बच्चा जन्माउने उमेरका ७० लाख महिला छन्। उनीहरूको घर नजिकै प्रसूति केन्द्र छैन, न स्त्री रोग विशेषज्ञ, न तालिम प्राप्त नर्स।

अस्पतालहरूले बिना पूर्व सूचना प्रसूति इकाई बन्द गर्दा स्थानीयवासी आक्रोशित र चिन्तित छन्। प्रसूति इकाई बन्द गर्नुअघि एस्ट्रा टोपेनिस अस्पतालले न स्थानीय जनतासँग कुरा गर्याे, न त त्यहाँ कार्यरत चिकित्सकलाई नै बतायाे, न बोर्डलाई नै यसबारे जानकारी दियाे। राष्ट्रमण्डल कोषको एक अध्ययनअनुसार ग्रामीण क्षेत्रमा बस्ने महिलालाई गर्भावस्थासँग सम्बन्धित जटिलता हुने सम्भावना बढी हुन्छ।

टोपेनिसका महिलाहरूका अनुसार एक प्रसूति इकाई हुँदा धेरैको ज्यान बचेको छ। तर अहिले प्रसूति इकाई बन्द हुँदा हरेक महिला जोखिममा छन्।३५ वर्षीया एड्रियाना गुएल तीन सन्तानकी आमा हुन्। उनलाई अन्तिम प्रसवको क्रममा एम्नियोटिक एम्बोलिज्म भनिने दुर्लभ र प्राणघातक राेग लागेकाे थियो। गाउँमा भएका विशेषज्ञ चिकित्सकले गर्दा मात्रै उनको ज्यान जोगियो। यस्तै, टोपेनिसकी मेयर एल्पिडिया सावेद्रा ४७ वर्षकी भइन्। उनी आफैं सम्झन्छिन् कि गर्भावस्थामा कसरी उनको जीवन खतरामा थियो।

युनिभर्सिटी अफ मिनेसोटा रुरल हेल्थ रिसर्च सेन्टरकी निर्देशक डा. केटी कोझिमानिल ग्रामीण क्षेत्रमा प्रसूति इकाई सञ्चालन गर्नु निकै महँगो भएको बताउँछिन्। प्रसूति इकाई चलाएमा २४ घण्टा कर्मचारी राख्नुपर्ने उनकाे भनाई छ। प्रसूति इकाईहरूमा दक्ष विशाेषज्ञ तथा नर्स अभावका कारण यो खर्च झनै बढेको उनी बताउँछिन्। 

‘अस्पतालहरूले करारमा नर्सहरू राख्न बाध्य छन् र तिनीहरूको शुल्क धेरै छ। प्रशिक्षित श्रम र डेलिभरी नर्सहरूको माग ठूलो माग छ, तर तिनीहरूको संख्या थोरै मात्रामा छ। यस्तो अवस्थामा उनीहरुको खर्च निकै बढ्छ,’ उनले भनिन्।अमेरिकाका धेरै भागहरूमा अल्पसंख्यक समुदायहरूको अवस्था पनि त्यस्तै छ। यी समुदायका लागि सञ्चालित अस्पतालहरूलाई आर्थिक सहयोग गर्न सरकारका धेरै योजनाहरू छन्। यस्तो अवस्थामा अमेरिकाजस्तो विकसित देशमा पनि ठूलो जनसङ्ख्याका अगाडि स्वास्थ्य सेवामा संकट खडा भएको छ।

अमेरिकामा यस्ता धेरै अस्पतालहरू छन्, जसले कुनै न कुनै प्राविधिक कारण वा अन्य कारणले यी योजनाहरूको फाइदा लिन सक्दैनन्। एस्ट्राटोपेनिस अस्पतालका प्रशासक क्याथी बम्ब्रिकका अनुसार अस्पतालले लगातार घाटा बेहोर्दै गएकाे छ। 

गत वर्ष शिशु सुरक्षा प्रणाली बिग्रियाे। तर यसलाई स्थापना गर्न अस्पतालसँग पैसा थिएन। अल्ट्रासाउण्ड मेसिनले एक्कासी काम गर्न छोड्यो। नयाँ मेसिनको लागि बजेट थिएन, त्यसैले सेकेन्ड ह्यान्ड मेसिन ५० हजार डलरमा किनिएकाे थियाे। टोपेनिसका बासिन्दाहरू प्रसूति इकाई बन्द हुनु सुरुवात मात्र भएको बताउँछन्।

(याे सामग्री ‘द न्युयोर्क टाइम्स’काे सहयाेगमा तयार पारिएकाे हाे।)

प्रकाशित मिति: : 2023-03-04 20:15:00

प्रतिकृया दिनुहोस्