आफ्नो सांसद छुटेपछि के भन्छ नाउपा? सुदूरपश्चिम सरकारले पाउला साथ? 

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी माघ १९ गते पक्राउ परेपछि संघदेखि प्रदेश सरकारलाई छुटाउनु पर्ने दबाब सिर्जना गर्‍यो। जसका स्वरुप सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि विश्वासको मत नदिएर विरोध गर्‍यो। सुदूरपश्चिम सरकार बन्न सघाएको नाउपाले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढल्न पुग्यो। र, संविधानतः काँग्रेस नेतृत्वको सरकार बन्यो।

माघ २६ गते तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागेको विश्वासको मतमा उपस्थिति नजनाएर एमाले नेतृत्वको सरकार ढालेर नाउपाले काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिएको थियो।

सांसद चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने नाउपाको अडान थियो। १२ वर्षअघि ट्याक्टरमा आगो लगाएको आरोपमा चौधरीलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो भने उनलाई प्रहरीले यही माघ १९ गते बाँकेको कोहोलपुरबाट पक्राउ गरेको थियो।

माघ १९ गते पक्राउ परेका सांसद चौधरी आइतबार छुटेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसर पारेर उनलाई आममाफी दिएपछि सांसद चौधरी कारागारबाट छुटेका हुन्।

उनी छुटेपछि अब काँग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारले विश्वासको मत पाउला? भन्ने प्रश्न उब्जिएको छ। नाउपाले पक्राउ परेका सांसद अरुणकुमार र टिकापुर घटनाका बन्दी रेशम चौधरीलगायतलाई विनाशर्त छाड्नु पर्ने माग राखेको थियो। जसमध्ये अरुणकुमार छुटेपछि सरकारमा सहभागी हुन सकिने अवस्था सृजना भएको प्रदेश सांसद कैलाश चौधरीले बताउँछन्।

तर सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए। ‘अरुण छुटेपछि सरकारमा सहभागी पनि हुन सकिने आधार बनेको छ,’ उनले भने, ‘तर के गर्ने भन्ने विषय पार्टीले निर्णय नगरी भन्न सकिँदैन। पछि पार्टीले निर्णय गर्छ।’

संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हैसियतले मुख्यमन्त्री बनेका शाहले ३० दिनमा विश्वासको मत लिनुपर्ने हुन्छ। उनले विश्वासको मत पाउनेमा कुनै शंका नगर्न आग्रह गरे। ‘बाहिर विश्वासको मत पाउँछ कि पाउँदैन भन्ने कुरा चलेको छ। त्यस्तो होइन’, मुख्यमन्त्री शाहले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘विश्वासको मत पाउनेमा कुनै शंका छैन। म विश्वासको मत पाउनेमा ढुक्क छु।’

उनले नाउपा, माओवादी केन्द्रलगायत सबै दलहरुसँग अहिले छलफल भइरहेको बताउँदै सबै दलको साथ आफूलाई मिल्ने जानकारी गराए।

प्रकाशित मिति: : 2023-02-19 14:18:00

प्रतिकृया दिनुहोस्