विमला वलीले छाडिन् माओवादी: भन्छिन्– सबै पार्टी चिनेँ, अब स्वतन्त्र बस्छु

लुम्बिनी प्रदेश पूर्व स्वास्थ्य राज्मन्त्री विमला खत्री (वली)ले माओवादी केन्द्र पार्टी परित्याग गरेकी छिन्। माघ २४ गते पार्टी कार्यालयलाई पत्र लेख्दै उनले राजीनामा दिएकी हुन्।

पार्टीले वास्ता गर्न छाडेपछि पार्टीमा बस्नु कुनै औचित्य नरहेको भन्दै राजीनामा दिएको उनले बताइन्। ‘मैले राज्यमन्त्रीबाट राजीनामा दिएपछि मलाई पार्टीले वास्ता गर्न छाड्यो। कुनै पनि पार्टी बैठकमा बोलाउनसमेत सकेनन्,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्, ‘पार्टीले वास्ता गर्न छाडेपछि म त्यहाँ बस्नुको कुनै औचित्य नरहेको ठानेर राजीनामा दिए।’

वलीले बुझाएको राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको उल्लेख छ। ‘लुम्बिनी प्रदेशमा हाम्रो सरकार बनाउन मैले भूमिका खेलेँ। तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो,’ राजीनामा पत्रमा भनिएको छ, ‘मलाई युज एण्ड थ्रो गरेको अनुभूत भयो र अब पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएको घोषणा गर्दछु।’

माओवादी केन्द्रबाट राजीनामा दिएकी वलीले अन्य कुनै पनि पार्टीमा नजाने बताइन्। एमालेमा फर्किने योजना बनाउनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘एमाले पार्टी पनि उस्तै त हो नि। पार्टी भन्ने सबै यस्तो हुन्। अब कुनै पनि पार्टीमा जाँदिनँ। स्वतन्त्र भएर बस्छु।’

दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट ०७४ मा निर्वाचित एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो। उनले भारी मतले विजयी प्राप्त गरेकी थिइन्। नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन्।

प्रकाशित मिति: : 2023-02-13 14:10:00

प्रतिकृया दिनुहोस्