राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ: माधव नेपाल

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्।

पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। ‘सबै पार्टीलाई समेटर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो। मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ।’

संविधान, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा  छिटो टुङगाउनु राम्रो हुने बताए।

प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटर जानुपर्नेमा सुझाव दिँदै उनले मध्यअवधि निर्वाचनतर्फ जान नहुने र यसलाई  मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे।

सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएको छ। कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: : 2023-02-12 14:50:00

प्रतिकृया दिनुहोस्