‘आर्थिक प्रलाेभनमा परेर नेपालीहरू म्यान्मार नआउनुहाेस्’

बिएल संवाददाता

रंगुन, म्यान्मार
BreaknLinks
BreaknLinks

म्यान्मारस्थित नेपाली दूतावासले आर्थिक प्रलाेभनमा परेर ‘भिजिट’ भिसामा म्यान्मार र थाइल्यान्ड नजान सचेत गराएको छ।

आकर्षक तलबको लोभमा परेर नेपाली ‘आइटीवर्कर’हरू दुबई र थाइल्यान्ड हुँदै द्वन्द्वग्रस्त म्यान्मार पुगेर अलपत्र परेका घटना सार्वजनिक भएपछि नेपाली दूतावासले चासाे राखेकाे छ।

दूतावासले आइटी कम्पनीमा आकर्षक तलब दिने प्रलोभन देखाइ एक सयभन्दा धेरै नेपालीहरूलाई म्यान्मारको जातीय सशस्त्र विद्रोही समूहले नियन्त्रण जमाएको कयिन र शान राज्यमा बन्दी बनाइएको छ।

स्राेतका अनुसार भिजिट भिसामा म्यान्मार पुगेका आइटीवर्करहरू महिनाैँदेखि लुकिछिपी गैरकानूनी काममा खटिएका छन्। 

नेपाली दूतावासले म्यान्मारकाे जंगली क्षेत्रमा बन्दी जीवन बिताइरहेका ती नेपाली युवाहरूलाई मुक्त गर्ने प्रयास गरेको छ। हालसम्म १० जना नेपाली ‘आइटीवर्कर’ रंगुनस्थित दूतावासको सम्पर्कमा आएका छन्।

इलाम घर भइ म्यान्मारको शान राज्य पुगेका २५ वर्षीय मिनराजको उद्धार कार्य लगभग अन्तिम चरणमा रहेको म्यान्मारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले बिएल नेपाली सेवालाई जनाएका छन्। ‘आइटीपेशेवरहरूलाई मोटो तलबको बहानामा प्रलोभनमा पारेर म्यान्मारको द्वन्द्व प्रभावित क्षेत्रमा पुर्याइँदै रहेछ। म्यान्मार सरकारसँग समन्वय गरेर यहाँका विभिन्न भागका फसेका नेपाली युवाहरूकाे उद्दारकाे काम गर्दैछाैँ,’ उनले भने।

युएई र नेपालमा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत् आकर्षक तलब र सुविधाको प्रलोभन देखाइ थाइल्यान्डको बैंकक र म्यान्मारको रंगुन अन्तर्राष्ट्रिय विमानस्थालमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन र शान राज्यमा जबरजस्ती अवैध कार्यमा लगाउने गरेको दूतावासको भनाइ छ।

अनलाइन जुवा, कल सेन्टर–क्रिप्टो करेन्सीजस्ता क्षेत्रमा काम गर्ने आइटी कम्पनीले नेपालीहरुलाई नियन्त्रणमा लिने र राहदानी कब्जा गरी दैनिक १३  घण्टासम्म काममा लगाउने गरेकाले पीडितहरू उद्धारको निम्ति दूतावासको सम्पर्कमा आइरहेका छन्।

म्यान्मारमा ६० भन्दा बढी नेपाली सूचना प्रविधि व्यवसायीलाई बन्धक बनाएर दिनरात काम गर्न लगाइएको दूतावासले जनाएको छ। तर बिएल नेपाली सेवाको सम्पर्कमा आएका पीडित नेपाली युवाका अनुसार म्यावडीमा झण्डै एकसय हाराहारीमा युवा बन्धक छन्।

म्यान्मारको म्यावडीमा एकसय नेपाली बन्धक छन्, जहाँ चिनियाँ, भारतीय, ब्राजिलिय आइटीपेशेवरहरू पनि छन्। नेपालीहरूले सिस्टम अपरेटरदेखि एकाउन्टेन्टसम्मको काम गर्दैआएका छन्। तीमध्ये एक जनाले दूतावासका अधिकारीसँग भने– ‘हामीलाई रोजगारीको आश्वासन दिएर फसाइयो। हामी यहाँ आएका थिएनौं, तर हामीलाई बैंकक भनेर म्यान्मार ल्याइयो।’

म्यान्मारको कायिन, शान, कचिन, छिन् राज्य म्यान्मार सरकारको नियन्त्रण बाहिर छन्। त्यहाँ जातीय सशस्त्र विद्रोही समूहको बाक्लो दबदबा छ। पीडितहरूका अनुसार त्यहाँ पुर्याइएका नेपालीहरू दुबई–थाइल्यान्ड हुँदै गृहयुद्ध चलिरहेको म्यान्मार पुगे।



म्यान्मारमा महिनाैँदेखि बन्धक छन् नेपाली ‘आइटीवर्कर’

प्रकाशित मिति: : 2023-02-12 11:03:00

प्रतिकृया दिनुहोस्