भावी राष्ट्रपतिबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ।

भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच केही दिनयता छलफल बाक्लिन थालेको छ।

आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ। आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ। सोही निर्वाचनलाई लिएर राजनीति गर्माउन थालेको छ।

संसदको पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरु बताउँछन्। तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ।

यही संशयका बीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच मंगलबार छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल राष्ट्रपति निर्वाचन केन्द्रित थियो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन्। जसलाई एमालेले असम्भव भनिरहेको छ।

मंगलबार भएको भेटमा पनि अध्यक्ष ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने प्रधानमन्त्रीलाई बताए।। उनले आफ्नो पार्टी एमालेका उमेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिए।

यसअघि सोमबार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त रुपमा राष्ट्रपतिका विषयमा छलफल गरेका थिए। 

प्रकाशित मिति: : 2023-02-07 14:31:00

प्रतिकृया दिनुहोस्