लफडा हुने डरले रास्वपा बैठकमा माेबाइल बन्देज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी बैठकमा माेबाइल बन्देज गरिएकाे छ।

गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान लिइरहेका सभापति रवि लामिछाने आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। प्रचण्डले सिधा भाषामा ‘तपाईंलाई सरकारमा लैजान सकिन्न, तपाईंको पार्टीबाट अरु आउने हो भने विकल्प दिनुस्’ भनेपछि लामिछाने त्यहाँबाट रिसाएर एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए।

बालुवाटार र बालकोटमा सभापतिको भेट र त्यहाँ भएका छलफलबारे प्रवक्ता मुकुल ढकालले बैठकका लागि भेला हुँदै गरेका केन्द्रीय सदस्यहरुलाई अनौपचारिक जानकारी गराइरहेका थिए। ब्रिफिङका क्रममा उनले सरकार छोड्नपर्ने परिस्थिति आउनसक्ने बताएपछि सांसदद्वय विराजभक्त श्रेष्ठ र सोविता गौतमले तत्कालै असन्तुष्टि जनाइहाले। सरकारमा जाने र एक महिनामै बाहिरिने निर्णयको औचित्य सिध्द गर्नुपर्ने भन्दै उनीहरुले आपत्ति जनाएपछि बैठकस्थल बाहिरै लामो गलफत्ती  चल्यो।

एउटा व्यक्तिका लागि सरकारमा जाने र फर्किने आलोकाचो निर्णयले बाहिर राम्रो सन्देश नजाने भन्दै नेताहरुले कडिकडाउ कुरा गरेपछि केहीबेर भनाभन भएकाे थियाे। त्यसपछि सबैलाई मोबाइल बाहिरै राखेर बैठकमा प्रवेश गर्न माथिबाट उर्दी आयो। सबै सदस्यले आफ्नो मोबाइल बाहिरै राखेर बैठकमा बसेका छन।

प्रकाशित मिति: : 2023-02-05 15:07:00

प्रतिकृया दिनुहोस्