खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौडेल

फाइल तस्बिर
फाइल तस्बिर

परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएका छन्।

गैरसरकारी संस्था महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) रिर्पोट, २०२२ सार्वजनिक तथा छलफल कार्यक्रममा उनले मुलुकमा रहेको भौगोलिक र जातीय विविधता तथा मौलिक सीपलाई कृषि उत्पादन र उपभोगमा अवसरका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

खाद्य गहन विषय भएको र यो वर्गीय, सामाजिक, जातीयलगायत पहिचानसँग गासिएको उल्लेख गर्दै मन्त्री पौडेलले खाद्य उत्पादनसँगै वितरण, आपूर्ति र पहुँचको विषय महत्वपूर्ण हुने उल्लेख गरे।

अन्तर्राष्ट्रिय प्रभाव र मूल्य वृद्धिले खाद्य वितरण र आपूर्तिमा चुनौती थपेको बताउँदै उनले नेपालमा थोरै भए पनि यस विषयमा प्रगति भएको बताए।

पछिल्लो समय बजारमा स्थानीय खाद्यभन्दा आयातित खाद्य वस्तुको प्रवेशले खाद्य सुरक्षामा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्दै उनले स्थानीय खाद्य सामग्रीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा ‘नारमिन’ का महासचिव खीमबहादुर थापा, राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेल, महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीलगायतले खाद्य सुरक्षा विषय र समाधानका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए। 

कार्यक्रममा सरोकारवाला विज्ञ सम्मिलित समूहगत छलफल हुनुका साथै नेपालको खाद्य सुरक्षा र अधिकारको अवस्थाका बारेमा विभिन्न प्रस्तुति गरिएको थियो। 

विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) (जीएचआई) कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित विश्वव्यापी, क्षेत्रीय र राष्ट्रियस्तरमा भोकमरीको विस्तृत रुपमा मापन र अनुगमन गर्न विकसित गरिएको एउटा वार्षिक प्रतिवेदन हो।

जीएचआईको उद्देश्य विश्वभरिबाट भोकमरी अन्त्य गर्नेतर्फ कदम चाल्न उत्प्रेरित गर्नु हो। सन् २०२२ को जीएचआई प्रतिवेदन वार्षिक शृङ्खलामा १७औँ हो। यसले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय भोकमरी स्थितिको बहुआयामिक मापन प्रस्तुत गर्दछ। 

सन् २०२२ को विश्वव्यापी भोकमरी सूचकाङ्क (जीएचआई) मा नेपाल १२१ राष्ट्रहरूमध्ये ८१औँ स्थानमा छ।

प्रकाशित मिति: : 2023-01-27 21:22:00

प्रतिकृया दिनुहोस्