लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने भएको छ।

यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने प्रवचनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए।

कार्यक्रमबारे जानकारी गराउन बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले प्रवचन कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा ९१२औं राम कथा आयोजना हुन लागेको हो। ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन्।

अभियानअन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ। नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो।

यसअघि सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो। यसैगरी काठमाण्डौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिए।

गुरु मोरारी बापु यही माघ २० गते भारतबाट चार्टर्ड विमानमार्फत सिधै गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल, भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको कथा आयोजक कृष्णकुमार जालानले जानकारी दिए। त्यस लगत्तै भगवान बुद्धको जन्मस्थलको दर्शन गरी बुद्ध लुम्बिनी गार्डेन होटलमा तयार गरिएको आफ्नो आवासमा पुग्ने कार्यक्रम रहेको छ।

यसअघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो। कार्यक्रमको चर्तित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केडियाले जानकारी दिए।

कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत सीमावसर्ती भारतीय सहर तथा गाउँहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ।

कार्यक्रममा आधा बढी पहिलो पटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दाबी छ। यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी हुने भक्तालुजनका लागि लुम्बिनीका अधिकांश होटलहरु बुकिङ भइसकेको आयोजकले जनाएको छ। यसैगरी यस क्षेत्रको सुरक्षा व्यवस्थालाई समेत कडाई गरी सुरक्षा निकायसँग आवश्यक समन्वयको काम भइरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2023-01-25 15:00:00

प्रतिकृया दिनुहोस्