स्पट फिक्सिङ प्रकरण : मेहबुब आलम विराटनगरको होटलबाट पक्राउ

File Photo
File Photo

‘स्पट फिक्सिङ’ को आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी मेहबुब आलम विराटनगरबाट पक्राउ परेका छन्। सोमबार दिउँसो उनलाई विराटनगर बसपार्कस्थित भिन्तुना होटलबाट मोरङ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को निर्देशनमा आलमलाई पक्राउ गरेर काठमाडौं पठाएको मोरङका एसपी शान्तिराज कोइरालाले बिएल नेपाली सेवालाई जानकारी दिए।

नेपाल टी ट्वान्टी क्रिकेट लिगमा फिक्सिङ गरेको उनीमाथि आरोप छ। फिक्सिङमा अर्का राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारी पनि पक्राउ परेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजनाअनुसार आलमले अन्सारीलाई स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ।

लिगमा खेलाडी नरहे पनि आलमले जतिन अहुवालियासँग खेलाडीहरुको सम्पर्क गराएका थिए। प्रहरीले अनुसन्धान थालेपछि अहलुवालिया फरार भएका थिए। उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए।

विराटनगरस्थित कान्तिपुर कलेजले मेहबुब आलमलाई माघ १० गतेबाट सुरु हुने हिसान स्पोर्टस मिटमा प्रशिक्षकका लागि बोलाएको थियो। सप्तरीको राजविराज घर भएका आलम हिसान स्पोर्टस मिटमा आएका बेला विराटनगरबाट पक्राउ परेका हुन्।

प्रकाशित मिति: : 2023-01-23 16:14:00

प्रतिकृया दिनुहोस्