एकीकृत समाजवादी र माओवादी केन्द्रबीच संवाद सुरु

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच आजदेखि औपचारिक संवाद सुरु भएको छ।

दुई पार्टीद्वारा गठित वार्ता समितिहरुको आज नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो बैठक बस्यो। 

आजको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारी लगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल हुनुको साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरु आदानप्रदान गरिएको छ।

आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच संवादलाई निरन्तरता दिने सहमति भएको थियो।

आजको बैठकमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराज मणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2023-01-22 21:59:00

प्रतिकृया दिनुहोस्