एमाले सांसद काेइरीलाई पक्राउ गर्न सबै जिल्लामा प्रहरीको सर्कुलर

फाइल तस्विर
फाइल तस्विर

प्रहरी प्रधान कार्यालयले हत्या अभियोग लागेका नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ सम्पूर्ण जिल्लामा सर्कुलर जारी गरेकाे छ। काेइरीलाई पक्राउ गर्न सम्पूर्ण जिल्लाका प्रहरी कार्यालयलाई पक्राउ गर्न निर्देशन दिएकाे केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियाे। काेइरी महाेत्तरी क्षेत्र नं. १ बाट निर्वाचित एमाले सांसद हुन्।

उनी संसदमा उपस्थित रहँदै आए पनि पक्राउ नगरिएकाे भन्दै प्रहरी प्रशासन र गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेपछि सबै जिल्ला प्रहरी कार्यालयलाई विज्ञप्ति जारी गरेर पक्राउ गर्न निर्देशन दिएकाे प्रवक्ता राईले बताए। यसअघि प्रधान कार्यालयले प्रक्राउकाे लागि माैखिक निर्देशन दिएकाे थियाे।

हत्या अभियोग लागेका सांसद कोइरीलाई पक्राउ गर्न ढिलाइ गरिएको भन्दै गृहमन्त्री र प्रहरीको आलोचना भइरहेको छ। डीआईजी राईले भने कोइरीको खोजी भइरहेको बताए। पुस ७ गते शपथकै दिन उनलाई पक्राउ गर्ने तयारी रहेकोमा उच्च अदालत जनकपुरको पत्र ढिला आइपुगेका कारण उनलाई पक्राउ गर्न नसकिएको राईले बताए।

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ।

प्रकाशित मिति: : 2023-01-22 12:56:00

प्रतिकृया दिनुहोस्