रौतहटको चन्द्रपुर नगरपालिका-५ स्थित चाँदी पुल नजिक स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँचजना घाइते भएका छन्।
चन्द्रपुरबाट सर्लाही जाँदै गरेका ना४च ३६९४ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउदै गरेका बा.प्र. ०१-००६ख ५७२९ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।
पूर्व पश्चिम राजमार्गमा मंगलवार बिहान करिब साढे ८ बजे दुबै साधन एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरले जनाएको छ। स्कारपिओका चालकसहित पाँच जना घाइते भएको र उनीहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार घाइतेहरूको टाउको, निधार, हात, आँखालगायतका शरीरको विभिन्न भागमा चोट लागेको छ।
बारा सिम्रौनगढ नगरपालिका-७ का २८ बर्षिय सन्तोष कुशवाहाको टाउको, निधारमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
रौतहट मौलापुर नगरपालिका-३ का २० बर्षीय सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका-५ का १८ बर्षीय प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका-३ मटिअर्वा घर भएका २१ बर्षीय स्कारपिओ चालक रामविनोद महतो र सोही नगरपालिका वडा नम्बर २ का १८ प्रदीप कुशवाहा घाइते भएका छन।
ट्रक चालक दोलखा जिरी नगरपालिका-४ का २८ बर्षिय फुरी तामाङसहित ट्रक र स्कारपिओलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।