२ लाख ७० हजार भाडा तिरेर नेपालीको ३ अर्ब ठगी

शनि शाक्य

काठमाडौं
Break n Links
Break n Links

काठमाडौंमा घरभाडामा लिएर अनलाइन जुवा खेलाउने भारतीय गिरोहको पर्दाफास भएको छ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अनलाइन जुवा र क्रिप्टो कारोबार गर्दै आएको भारतीय नागरिकहरूको समूहलाई नै पक्राउ गरेको जानकारी दिएको छ।

उनीहरूले काठमाडौंको बुढानिलकण्ठमा महिनाको २ लाख ७० हजार रुपैयाँमा घर नै भाडामा लिएर अनलाइन जुवा खेलाएको खुलेको छ।

बुढानीलकण्ठ नगरपालिका-३ मा साढे दुई तले घर भाडामा लिएर क्रिप्टो कारोबार भइरहेको सुचना प्रहरीले पाएको र सोही अनुसार प्रहरीले गिरोहविरुद्ध अप्रेसन सञ्चालन गरेको परिसरका एसपी विश्व अधिकारीले जानकारी दिए।

घरधनी दावाङ दोर्जे शेर्पाले एक महिनाको सम्झौता गरेर एक व्यक्तिलाई घर भाडामा दिएका थिए। प्रहरीका अनुसार उक्त घरमा एक महिनादेखि २३ जना मानिस बस्दै आएका थिए। एउटै कोठामा बसेका उनीहरू खाट र भुईँमै बसेर धन्दा चलाउँथे, त्यो पनि दिनरात।

माघ २७ गते प्रहरीले घरमा छापा मारेपछि घरभित्र भइरहेको अवैध धन्दा पर्दाफास भएको थियो। प्रहरीले घर घेरा हालेर हिन्दी भाषामा ‘आफुहरू प्रहरी भएको’ भन्दै प्रवेश गरेर छापा मारेको थियो।

अनलाइन जुवा र क्रिप्टो कारोबारमा संलग्न २३ भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप, ७ वटा डायरीलगायतका सामाग्रीहरू बरामद गरेको छ। त्यस्तै ८१ हजार रुपैयाँसमेत बरामद भएको छ।

उनीहरूले विभिन्न एपमार्फत अनलाइन जुवा खेलाएर ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले छापा मार्दा बरामद गरेको डायरीमा कारोबार भएको रकम उल्लेख गरिएको छ। त्यसैको आधारमा प्रहरीले कारोबार भएको प्रारम्भिक तथ्याङ्क निकालेको हो।

‘हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौं। अनलाइन जुवासँगै क्रिप्टोसमेत जोडिएको छ,’ एसएसपी विश्व अधिकारीले भने।

उनीहरूले एक महिनादेखि अनलाइन जुवा खेलाएको देखिएको हो। यसमध्ये ८६ करोड ९१ लाख रुपैयाँको क्रिप्टो कारोबार भएको देखिएको छ। प्रहरीले पक्राउ परेका मानिस अपरेटर मात्र हुन्। मुख्य नाइके भने फरार छन्।

 

यसरी आएको रकम विभिन्न माध्यमबाट भारतीय बैङ्क खातमा नै पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलबाट ९ वटा भारतीय एटीएम कार्डसमेत बरामद गरेको छ।

त्यस्तै केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि यस्तै धन्दा गर्नेहरूलाई पक्राउ गरेको थियो। उनीहरूबाट ६ अर्ब भन्दाबढी रकम बरामद भएको छ।

प्रकाशित मिति: : 2025-02-11 16:40:00

प्रतिकृया दिनुहोस्