भावना र अभ्यासको संयोजन गरौँ: मन्त्री उप्रेती

नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीले नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेका थिए।

सिंहदरबारस्थित रक्षामन्त्रालयमा पदवहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने,  ‘हामीसँग भावना छ,  तपाईंहरूसँग अभ्यास छ, त्यसलाई संयोजन गरी परिणाम दिने गरी काम गरौँ।’ 

समयानुकूल आफूलाई परिमार्जन गरी लोकतान्त्रिक र व्यावसायिक बनिरहेको नेपाली सेनाको गरिमामय सङ्गठनको ओजलाई जोगाउन आवश्यक रहेको बताउँदै मन्त्री उप्रेतीले सेनाको ठूलो सङ्ख्यामा रहेको सशस्त्र जनशक्तिलाई मुलुकको विकास र पूर्वाधार निर्माणमा लगाउनुपर्छ भन्ने आफ्नो भावना रहेको धारणा व्यक्त गरे।

सर्लाही वरथहवा नगरपालिका स्थायी घर भई पिता गोविन्दप्रसाद र भोजकुमारी उप्रेतीको कोखबाट विसं २०२४ मा जन्मनुभएका नवनियुक्त मन्त्री उप्रेती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठनबाट राजनीतिमा प्रवेश गरेका थिए।

स्नातक तहको शिक्षा पूरा गरेर गाउँ फर्केर राजनीतिमा सक्रिय भएका उनीसँग विसं २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएर काम गरेको अनुभव छ।

प्रकाशित मिति: : 2023-01-17 18:05:00

प्रतिकृया दिनुहोस्