सुदन किराँतीकाे राजनीतिक यात्राः जेल जीवनदेखि मन्त्रीसम्म

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए। त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ।

विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका राई भोजपुरबाट तीन पटक विजयी भएका थिए। विसं २०६४ को संविधानसभा निर्वाचनमा २९ वर्षको उमेरमा नै संविधानसभा सदस्यमा निर्वाचित भएका किराँती संविधान निर्माणमा सक्रिय सहभागी भए।

विसं २०६१ बाट २०६३ सम्म २३ महिना बन्दी जीवन बिताएका किराँतीले २०७४ र २०७९ मा पनि सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

माओवादी आन्दोलनका क्रममा नौ वर्ष भूमिगत भएका किराँती जनशैली पछ्याउने थोरै नेतामध्ये एक हुन्। पूर्वेली लवजमा बोल्ने, जनताले जे खोज्छ त्यस्तै रुपमा प्रस्तुत हुने किराँतीको स्वभाव आफैँमा अनुकरणीय रहेको माओवादीका नेता तथा कार्यकर्ताको टिप्पणी छ।

प्रतिनिधिसभा सदस्य भए पनि नियमित भोजपुर पुग्ने र जनतासँग घुलमिल गर्ने उनको स्वभावलाई धेरैले मन पराएका छन्। भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दुःखमा साथसाथै रहने कार्यशैलीले उनी जनतामाझ स्थापित छन्। सिधा र स्पष्ट कुरा राख्ने किराँती राजनीतिमा पनि निकै काबिल छन्।

राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गरेका किराँती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उनको राजनीतिक यात्रालाई ओझिलो बनायो।

पार्टीमा राम्रो प्रभाव राख्ने नेता भएकाले पनि सुदन किराँती अघिल्लो पटक नै मन्त्री बन्ने चर्चा थियो। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा  भोजपुरबाट प्रतिनिधिसभाका लागि निर्वाचित भए पनि किराँतीको झनै चर्चा भयो।

गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनभएपछि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गरेर बिदा भएका थिए।

पर्यटनमन्त्रीका रुपमा मन्त्री किराँतीलाई कोभिड–१९ (कोरोना भाइरस) महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना बनाउने जिम्मेवारी छ।

सरकारले पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक (सन् २०२३ देखि २०३२) को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखा सार्वजनिक गरिसकेको छ।

भ्रमण दशकको प्रभावकारी कार्यान्वयनदेखि पर्यटन क्षेत्रको नीतिगत सुधार गरेर आर्थिक समृद्धिको आधारमध्येको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमन्त्री किराँतीको मुख्य जिम्मेवारी हुनेछ।

प्रकाशित मिति: : 2023-01-17 14:12:00

प्रतिकृया दिनुहोस्