सभामुखमा झापाली: 'झापा' हुँदाहुँदै, कहाँको 'लम्जुङ' कहाँको 'रूपन्देही'?

संघीय संसद् सचिवालयले नयाँ सभामुखका लागि आज मनोनयन दर्ता गर्दैछ।

सत्ता गठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ। त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ।

एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन्। जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वीसुब्बा गुरुङ छन्।

गुरुङ पार्टी उपमहासचिवसमेत हुन्। विश्वकर्मा सचिव हुन्। तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतले बतायो। झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ।

एमाले प्रदेश–१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए। एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन्।

ओलीले घिमिरेलाई अघि सारेपछि छविलाल र पृथ्वीसुब्बाकाे सम्भावना कम देखिएकाे छ।

नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन। सत्ता गठबन्धनमा निर्वाचित गर्न सक्ने मत भएकाले पनि कांग्रेसले आफ्नो उम्मेदवारको नाम आजै तय गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2023-01-18 07:30:00

प्रतिकृया दिनुहोस्