दौरा सुरुवालमा शपथ खान राष्ट्रपति कार्यालय जाँदै थिए, एकाएक नाम काटिएकाे फाेन आयाे...

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा आठ मन्त्री र एक राज्यमन्त्री पाएको सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट एकजनालाई मन्त्री सिफारिस गरेको छ।

राष्ट्रपतिको 'मान राख्न' एकजना मन्त्री भागमा पार्नैपर्ने भएपछि अन्तिम समयमा केही नाम भने काटकुटमा परेका छन्। कपिलवस्तुबाट निर्वाचित सांसद बलराम अधिकारीको नाम मन्त्री बन्ने सूचीबाट काटिएको हो।

महासचिव शंकर पोखरेल निकट उनी आज बिहान नौ बजेसम्म मन्त्रीकै सूचीमा थिए। तर,अध्यक्ष केपी शर्मा ओली,महासचिव पोखरेल र उपमहासचिव विष्णु रिमालले अन्तिममा अधिकारीको नाम काट्दै राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्याललाई मन्त्री बनाउने निर्णय लिए।

एमाले स्रोतका अनुसार डा. पौड्याल राष्ट्रपति भण्डारी निकट हुन्। उनलाई राष्ट्रपतिकै जोडबलमा मन्त्री बनाउन एमाले अध्यक्षसहितका नेताहरू बाध्य भएको बताइन्छ। पौडेललाई परराष्ट्र मन्त्री बनाउने गरी एमालेले उनको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ।   

यता, आफू मन्त्री हुने पूर्ण संकेत पाएका अधिकारी भने सपथका लागि चाहिने दौरा सुरुवाल लगाएर राष्ट्रपति कार्यालय शीतल निवास जाने तयारीमा थिए। तर, महासचिव पोखरेलको फोन आएपछि उनी कोठामै रोकिएका छन्। 

एमाले अध्यक्षले अर्कोपटक मन्त्री बनाउने बाचा गरेर अधिकारीलाई 'थामथुम' पारेको पनि त्यही स्रोत बताउँछ।

प्रकाशित मिति: : 2023-01-17 18:50:00

प्रतिकृया दिनुहोस्