लुम्बिनी : सभामुख निर्विरोध हुँदा उपसभामुखमा तीन जनाको उम्मेदवारी किन? 

BreaknLinks
BreaknLinks

लुम्बिनी प्रदेशमा सभामुखमा एक जनाको मात्र उम्मेदवारी पर्दा उपसभामुखमा तीन जनाको उम्मेदवारी परेपछि यसलाई चासको साथ हेरिएको छ।

अझ सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले समेत उपसभामुखमा उम्मेदवारी दिएपछि उपसभामुखको निर्वाचन रोचक हुने भएको छ।

मंगलबार (भोलि) दिउँसो १ बजे उपभामुखको निर्वाचन हुनेछ। सभामुखमा सत्ता गठनबन्धनबाट माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र उम्मेदवारी परेको छ। एक जनाको मात्र उम्मेदवारी परेपछि उनी सभामुख हुने पक्का भएको छ। 

तर उपसभामुखमा सत्ता गठबन्धनबाट राप्रपाकी मेनुका खाँड केसीको उम्मेदवारी परेको छ। सँगै सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरी र संसदको प्रतिपक्ष दल काँग्रेसका विश्वप्रेम पाठकले उपसभामुखका लागि उम्मेदवारी दिएका छन्।

तीन जनाको उम्मेदवारी परे पनि उपसभामुखमा सत्ता गठबन्धनको मत हेर्ने हो भने राप्रपाकी खाँडले जित्ने निश्चित छ। सत्ता गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टील मत नदिए पनि सरकारलाई विश्वासको मत दिएका स्वतन्त्रसहित अन्य दलको मत ५४ रहेको छ। यो खाँडका लागि विजयी हुने पर्याप्त मत हो।

तर काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले सभामुखमा उम्मेदवारी नदिएर उपसभामुखमा मात्र उम्मेदवारी दिएपछि केहि शंकाको उब्जिएको छ। दुबै पार्टीले सभामुखमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनमै रहेका दलहरुले उनीहरुलाई सहयोग गर्ने सहमति त भएको छैन भन्ने प्रश्न उठेको छ।

तर सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रजित थारुले सत्तागठबन्धनको मत कतै नबाडिने बताए। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘सत्ता गठबन्धन क्लियर अगाडि बढ्छ। कहिँकतै सहमति भएको छैन। हुने कुरा पनि भएन।’

थारुले गठबन्धनसँग बहुमत भएको भन्दै गठबन्धनकै उम्मेदवारले जित्नेमा कुनै शंका नरहेको बताए। उनले नागरिक उन्मुक्ति पार्टीले बुद्धि नपुर्याएर उम्मेदवारी तर्क गरे। 

काँग्रेसले कसको भरमा दियो उम्मेदवारी ?

संसदको प्रतिपक्षमा रहेको नेपाली काँग्रेससँग कुल २७ जना सांसद छन्। सरकारलाई समर्थन गरेका ५८ सांसद मध्य नागरिक उन्मुक्ति पार्टीका ४ सांसदलाई छाड्ने हो भने अब गठबन्धनसँग ५४ सांसद रहेका छन्। 

काँग्रेसले नागरिक उन्मुक्तिसहित संसदको प्रतिपक्ष दल नेकपा एस र जनमोर्चाका एक-एक जनाको साथ पाए पनि मात्र ३३ जना सांसद हुनेछन्। यो उपसभामुखका लागि विजयी हुने मत होइन। 

तर काँग्रेसले कसको सहयोग पाउने आशामा उपसभामुखमा उम्मेदवारी दियो? संसदीय अभ्यासका लागि हो भने सभामुखमा किन दिएन? प्रश्न उठेको छ। 

काँग्रेसले एमाले र माओवादीको मत पाउन सक्ने कुनै आँकलन गर्न सकिनदैन। त्यसो भए काँग्रेसले जनमतका ३, लोसपाका ३ जसपाका ४ र स्वतन्त्र २ जना क–कसको मत पाउने गरी उपसभामुखमा उम्मेदवारी दियो होला? 

विएल मिडियासँग कुरा गर्दै उपसभामुखका उम्मेदवार विश्वप्रेम पाठकले आशा सबैको भए पनि सहमति कसैको नभए बताए। उनले भने, ‘हामीले कुनै सहमति गरेर उम्मेदवारी दिएको होइन। संसदीय अभ्यासमा फिल्ड छाड्नु हुन्न भन्ने मात्र हो।’

 पाठकले सभामुखमा उम्मेदवारी नदिएर सदभावपूर्ण सम्बन्धलाई कायम राखेको प्रतिकृया दिए। उनले नागरिक उन्मुक्ति पार्टी लगायतसँग के गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि बताए। 

सत्ता गठबन्धनबाट बाहिन लागेको हो नागरिक उन्मुक्ति पार्टी ? 

मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा उम्मेदवारी दिएर के सत्तापक्षबाट बाहिन खोजको हो?

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता राजकुमार चौधरीले  उपसभामुखको उम्मेदवारी र सरकारको समर्थन फरक कुरा रहेको बताए।

उनले केन्द्रमा नै पार्टीले सरकारलाई समर्थन गरेको तर राष्ट्रति, सभामुख, उपसभामुख लगायतमा कुनै सहमति नभएकाले लुम्बिनीमा पनि उपसभामुखमा उम्मेदवारी दिएको बताए।

उनले जित्नेका लागि भन्दा पनि केन्द्रबाट कुनै निर्देशन नआएका कारण उपसभामुखमा उम्मेदवारी दिएको जिकिर गरे।

उम्मेदवारी दिँदा कसैसँग सल्लाह नगरेर दिएको बताउँदै उनले भोलिसम्म अन्य उम्मेदवारलाई सहयोग गर्न सकिने पनि बताए।

प्रकाशित मिति: : 2023-01-16 22:00:00

प्रतिकृया दिनुहोस्